काठमाडौं २८ चैत । जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिकसत्र २०८२ को पठनपाठन शुरू हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक पुग्ने जनाएको छ ।
केन्द्रका प्रबन्धक निर्देशक यदुनाथ पौडेलले विद्यालय तहको नयाँ शैक्षिकसत्रका लागि छपाइ गर्नुपर्ने एक करोड ७० लाख ५० हजार थान पाठ्यपुस्तक केन्द्रीय कार्यालय र मातहतका प्रादेशिक कार्यालयहरूबाट तालिकाबद्ध रूपमा बिक्रीवितरणको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
यही चैत १२ गतेदेखि बिक्रीवितरण खुला गरी देशका ७७ वटै जिल्लाका सूचीकृत बिक्रेताहरूमार्फत शैक्षिक सत्र शुरू हुनुअघि सम्बन्धित विद्यालयहरूमा पुर्याउन पहल भएको उहाँले बताउनुभयो ।
विद्यालयमा पाठ्यपुस्तक नपुगेको र विद्यार्थीले प्राप्त नगरेको गुनासो आएमा तुरुन्त केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरूमा सम्पर्क गर्न जनक शिक्षाले आग्रह गरेको छ ।
अहिलेसम्म देशभरका नौ वटा कार्यालयबाट ६४ लाख ७६ हजार ८५० थान पुस्तक बिक्रिवितरण गरिसकिएको केन्द्रले जनाएको छ ।
कक्षा ११ र १२ का पाठ्यपुस्तक पनि विद्यार्थी सङ्ख्याका आधारमा छपाइ भइरहेकाले समयमै उपलब्ध गराइने प्रबन्धक केन्द्रका निर्देशक पौडेलले जानकारी दिनुभयो ।
केही वर्षअघिसम्म देशभरका विद्यालयमा शैक्षिकसत्र सकिने बेलासम्म विद्यार्थीले पुस्तक पाउन नसकेको गुनासो आउने गरेका थिए ।
सरकारले केही वर्षयता जनक शिक्षा सामग्री केन्द्रलाई पाठ्यपुस्तक छाप्ने जिम्मा दिएपछि समस्या समाधान हुन थालेको छ ।
सरकारले कक्षा एक, दुई र चारको पाठ्यपुस्तक छपाइको जिम्मा भने निजी क्षेत्रलाई नै दिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्