काठमाडौं । दोलखाको यलुङरी हिमालमा गत कात्तिकमा गएको हिमपहिरोमा परी बेपत्ता भएका पाँचजनाको शव नौ महिनापछि फेला परेको छ।
यलुङरी हिमाल आरोहणमा गएका १५ जनामध्ये आठजनालाई घटनालगत्तै सकुशल उद्धार गरिएको थियो भने दुईजनाको शव तत्कालै फेला परेको थियो। बाँकी पाँचजना भने बेपत्ता थिए।
जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मनोजकुमार लामाका अनुसार खोजीका क्रममा शुक्रबार पाँचैजनाको शव फेला परेको हो। फेला परेका शवमध्ये दोलखाको गौरीशंकर गाउँपालिका–९ का पदम तामाङ र सोलुखुम्बुकी मेरे कार्की रहेका छन्।
बाँकी तीन शव विदेशी नागरिकका रहेको प्रहरीले जनाएको छ। उनीहरूमध्ये एकजना क्यानडेली, एकजना इटालियन र अर्का जर्मन नागरिक रहेका छन्।
डीएसपी लामाका अनुसार फेला परेका चारवटा शव सोमबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। शवको आवश्यक प्रक्रिया तथा पहिचानसम्बन्धी काम भइरहेको प्रहरीले जनाएको छ।
यलुङरी हिमाल दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा अवस्थित छ।
हिमपहिरोमा १५ आरोहणकर्ता फसेका थिए
गत कात्तिकमा यलुङरी हिमालमा गएको हिमपहिरोमा १५ जना आरोहणकर्ता फसेका थिए। उद्धारका क्रममा आठजनालाई सकुशल निकालिएको थियो भने दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो।
त्यसपछि बेपत्ता रहेका पाँचजनाको खोजी जारी रहे पनि तत्काल शव फेला पर्न सकेको थिएन। करिब नौ महिनापछि उनीहरूको शव फेला परेको हो।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्