काठमाडौं ३० चैत । राजावादीले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंविरुद्ध प्रहरीले राज्यविरुद्धको कसुरमा अनुसन्धान अघि बढाएको छ । भारतको आसाममा बिहीबार नियन्त्रणमा लिइएका प्रसाईंलाई शुक्रबार काठमाडौं ल्याएर प्रहरीले अनुसन्धान थालेको हो ।
उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत काठमाडौंले १२ दिनको म्याद दिएको छ ।
तीनकुने क्षेत्रमा १५ चैतमा राजावादीले गरेको प्रदर्शनका क्रममा प्रसाईंले गाडी चलाएर प्रहरीलाई पेल्दै निषेधाज्ञा उल्लंघन गरेका थिए । उनले भीडलाई हिंस्रक बन्न उक्साएका पनि थिए । त्यसपछि भारतको आसाम पुगेर नेपालीभाषीको घरमा बसेका प्रसाईं र उनका निजी अंगरक्षक दीपक खड्कालाई बिहीबार प्रहरीको विशेष ब्युरोले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई शुक्रबार झापाको भद्रपुरबाट जहाजमार्फत काठमाडौं ल्याइएको हो । नेपाल प्रहरी प्रधान कार्यालयले भने झापाको भद्रपुरबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
प्रसाईं र खड्कालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले अनुमति दिएको हो । जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार प्रसाईं क्यान्सरको बिरामी भएका कारण चिकित्सकको परामर्शमा राख्नसमेत अदालतले प्रहरीलाई आदेश दिएको छ ।
तीनकुनेमा राजावादीको प्रदर्शन हिंस्रक बन्दा एक सञ्चारकर्मीसहित २ जनाको मृत्यु भएको थियो । प्रहरी र प्रदर्शनकारी गरेर दर्जनौं मानिस घाइते भएका थिए । घाइतेमध्ये २० जनालाई प्रहरीको गोली र छर्रा लागेको थियो । तीमध्ये पाखुरामा गोली लागेका काभ्रेका रामहरि ९रिदम० श्रेष्ठको बीएन्डबी अस्पतालमा, दायाँ तिघ्रामा गोली लागेकी उदयपुरकी रेविका खत्रीको सिभिल अस्पतालमा, पेटमा गोली लागेका भोजपुरका डिल्लीप्रसाद लुइँटेल र कुहिनामा गोली लागेका शम्भु दर्जी ट्रमा अस्पतालमा उपचाररत छन् ।
राजावादीको आगजनी तथा तोडफोडबाट प्रहरीका सवारीसाधन ७, अन्य सरकारी कार्यालयका १०, संस्थानका १, निजी १८, नम्बर नखुलेका चारपांग्रे २७ र दुईपांग्रे ६ गरेर ६९ सवारीसाधनमा क्षति पुगेको थियो । प्रदर्शनकारीले व्यक्तिका घर ६, निजी संस्था २९, सरकारी कार्यालय ३, राजनीतिक दलका कार्यालय २ सहित ४० संरचनामा क्षति पुर्याएको प्रहरीको तथ्यांक छ ।
हिंसात्मक घटनाका मुख्य नाइके प्रसाईं नै रहेको निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्ले तत्काल पक्राउ गर्न गृह प्रशासनलाई निर्देशन दिएको थियो । यसबीचमा प्रसाईंले आफू काठमाडौंमै रहेको भन्दै फेसबुकमार्फत भिडियो सार्वजनिक गरिरहेका थिए । तर १४ दिनपछि उनी भारतमा पक्राउ परेका हुन् ।
तीनकुने घटनालाई नै लिएर काठमाडौं प्रहरीले यसअघि नै सांसद धवलशमशेर जबरा, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत ८२ जनालाई अनुसन्धान गरिरहेको छ । उनीहरूमाथि आपराधिक उपद्रव, संगठित अपराधमा अनुसन्धान भइरहेको छ । तीमध्ये राणा र मिश्रसहित २२ जनालाई राज्यविरुद्धको कसुरमा पनि अनुसन्धान हुँदै छ । उनीहरूमध्ये ८ जनालाई भने हाजिर जमानीमा छाडिएको प्रहरीले जानकारी दिएको छ ।







प्रतिक्रिया दिनुहोस्