धादिङ, ८ चैत । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, कात्राक गाउँको खानेपानीको मुहानमा विषको बोतल भेटिएपछि सो मुहानको पानी प्रयोग गर्न गाउँबासीलाई रोक लगाइएको छ ।
कात्राकमा ल्याइएको पानीको मुहानमा विषादि हालिएको शंका लागेको र पानीमा समेत अनौठो गन्ध आएकाले पानी प्रयोग गर्न रोक लगाइएको वडाध्यक्ष भुवन त्रिपाठीले बताउनुभयो । प्रहरी अनुसन्धानका क्रममा पानीको मुहानमा लारा ९९० नामको विषादिको बोतल भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी, वडाध्यक्ष त्रिपाठी र प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाको टोली घटनास्थलमा पुगेर स्थलगत अनुगमन गर्दा पानीको गन्ध र देखिएको कणका आधारमा कात्राक खानेपानीको मुहानमा विषादि मिसाइएको शंका गरिएको हो ।
सो मुहानको पानी ५० घरधुरीले प्रयोग गर्दै आएका छन् । अनुसन्धानपछि खानेपानीको मुहानमा विषादी मिसाइएको शंका भएपछि प्रयोगशालाका लागि पानी काठमाडौंँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । “ हामी पनि पानीको मुहान, ट्याङ्की तथा पाइप लाइन सरसफाइ गरेर छिट्टै पानीको समस्या समाधान गर्छाैँ”, गाउँपालिकाका अध्यक्ष डल्लाकोटीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्