काठमाडौं, १४ चैत । काठमाडौंमा सडक विस्तारका नाममा पुराना बस्तीहरू मात्र नभइ शताब्दीयौं पुराना सांस्कृतिक सम्पदासमेत ध्वस्त हुने भएपछि ‘सडक विस्तार पीडित संघर्ष समिति’ नै बनाएर उपत्यका निवासी नेवारहरु विरोध प्रदर्शनमा उत्रिएका छन् ।
विभिन्न स्थानमा सडक विस्तारका नाममा स्थानीय बासिन्दाको उठीवास लगाउने र प्राचीन सहरी सम्पदा ध्वस्त बनाउने काम भएको भन्दै बुधवार उनीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे । विरोध प्रदर्शनमा हजारभन्दा बढीको सहभागिता थियो ।
प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरी र प्रर्दशनकारीबीच झडप भएको थियो । ३ प्रहरी घाइते भएको र १६ प्रदर्शनकारी पक्राउ परेको प्रहरीले जनाएको छ । भीड नियन्त्रण गर्न प्रहरीले पानीको फोहरा र आश्रुग्याँस प्रहार गरेको थियो ।
प्रदर्शनकारीले प्रहरीको दुईओटा गाडीमा समेत तोडफोड गरेका महानगरीय प्रहरी कार्यालयका एसएसपी पूर्णचन्द्र जोशीले बताए । पक्राउ परेकाहरुलाई महानगरिय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्