काठमाडौं, १४ चैत । अनुमति बिना आफ्नो फिल्ममा लोकप्रिय ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि’ बोलको गित प्रयोग गरेका ‘कृ’ फिल्मका निर्माता सुवास गिरीले क्षतिपूर्तिस्वरुप फिल्म ‘सम्झाना’का निर्माता शम्भु प्रधानलाई ११ लाख रुपैँया तिरेका छन् ।
त्यो रकमवापतको कर ‘कृ’का निर्माता सुवास गिरी र सम्झनाका निर्माता शम्भु प्रधानले आधाआधा तिर्ने सहमति पनि भएको छ।
११ लाख रुपैयाँ बुझेपछि निर्माता प्रधानले यो नेपालमा पाइरेसीमा क्षतिपूर्ति तिरेको पहिलो घटना भएको बताए। ‘मेरो फिल्म बनाउँदा कति पैसा लागेको थियो भन्नेतिर नजाउँ तर यसले अर्काको कपिराइट्समा अनुमतिबिना प्रयोग गर्न नमिल्ने पनि सन्देश मिलेको छ,’ प्रधानले भने।
फिल्मको गीत पाइरेसी गरेको अभियोगमा निर्माता गिरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार नियन्त्रणमा लिएको थियो।
काठमाडौं–१० बानेश्वर बस्ने शम्भु प्रधानले २०४३ सालमा निर्माण गरेको चलचित्र सम्झनामाको ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि‘’ गीत ‘कृ’ फिल्ममा बिना अनुमति प्रयोग गरेको अभियोगमा गिरीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको थियो।
महानगरीय प्रहरी परिसरमा यो विवाद साम्य पार्न अभिनेता भुवन केसी, निर्देशक आकाश अधिकारी, निर्माता अशोक शर्मालगायत उपस्थित थिए।
प्रतिक्रिया दिनुहोस्