२१ चैत, काठमाडौं । पार्टी एकीकरणको अन्तिम सन्ध्यामा नेकपा एमालेले पोलिटव्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।
बुधबार बसेको एमाले स्थायी कमिटी बैठकले बैशाख ९ गते माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्नुअघि पार्टीको पोलिटब्यूरो र केन्द्रीय कमिटि बैठक बोलाउने निर्णय गरेको हो ।
आगामी वैशाख ६ गते पोलिटव्यूरो र ७ गते केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय लिएको प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो ।
एमालेले वैशाख ९ गते एमाले र माओवादी एकीकरण हुने सहमति भएकाले त्यसअघि एमालेले पोलिटव्यूरो र केन्द्रीय कमिटी बैठकबाट पार्टी एकता अनुमोदन गर्न लागेको हो ।
सम्भवतः एमालेका यी दुई बैठक नै अन्तिम बैठक हुनेछन् । त्यसको दुई दिनपछि नेकपा एमाले औपचारिक रुपमा विघटन भै माओवादी केन्द्रसँग हुने एकीकरण पछि नयाँ पार्टीको नाममा राजनीतिक मैदानमा आउनेछ ।
स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि भएका प्रगतिबारे जानकारी गराउनुभएको थियो । अध्यक्ष ओलीले एकताका लागि केही प्राबिधिक बिषय मात्र बाँकी रहेको भन्दै तिनलाई पनि चाँडै टुंगो लाग्ने बताउनुभएको सचिव भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्