बाबियाचौर, म्याग्दी, २४ चैत। सदरमुकाम बेनीदेखि मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित टोड्के जोड्ने पर्यटकीय पदमार्ग निर्माण कार्य शुरु भएको छ ।
बेनी नगरपालिका र पर्यटन विभागको लगानीमा बेनीदेखि पौलत्स्य जगन्नाथ हँुदै टोड्के पुग्ने पदमार्ग निर्माणको काम शुरु भएको हो । पदमार्ग निर्माणका लागि बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा रु चार लाख र पर्यटन विभागले रु तीस लाख विनियोजन गरेको बेनपा– ७ वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार नगरपालिकाले विनियोजन गरेको बजेटबाट उपभोक्ता समितिले काम शुरु गरेका छन् । नगरपालिकामार्फत हुलाकचोक भन्दा माथिदेखि ११९ मिटर पदमार्ग निर्माण हुने भएको छ । यसअघि नगरपालिकाको दुई लाख पचास हजार लगानीमा हुलाकचोकदेखि ८५ मिटर पदमार्ग निर्माण भइसकेको छ ।
नगरपालिकाको बजेटको काम सकिएलगत्तै पर्यटन विभागको बजेटबाट काम शुरु गरिने उपभोक्ता समितिका अध्यक्ष अमर बानियाँले बताउनुभयो । यसवर्ष बेनीदेखि रामायण पार्कको प्रवेश विन्दुको रुपमा प्रस्तावित आँपरुखसम्म करिब डेढ किलोमिटर पदमार्ग पु¥याउने योजना छ । हाल भिरालो र कच्ची बाटो रहेको ठाउँमा पिसीसी ढलान गरेर पक्की पदमार्ग निर्माण गर्न लागिएको हो ।
बेनीदेखि पदमार्ग विस्तार गर्दे टोड्केसम्म पु¥याउने लक्ष्य रहेको अध्यक्ष बानियाँले बताउनुभयो । पदमार्ग निर्माण भएपछि बेनीमा आउने पर्यटकलाई गुफाको डिल, पछै, जगन्नाथ, टोड्के भ्रमणका लागि सहज हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्