काठमाडौं, १४ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जननेता मदन भण्डारीको मृत्यु सामान्य दुर्घटना नभई षड्यन्त्रपूर्ण हत्या भएको दाबी गर्दै त्यसको यथार्थ अझै खोजीको विषय हुनुपर्ने बताउनुभएको छ।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले मदन भण्डारी नेपालको कम्युनिष्ट आन्दोलनका सम्मानित र असाधारण क्षमताका नेता भएको उल्लेख गर्नुभयो। भण्डारीको योगदानका कारण उहाँलाई ‘नेपालमा जीवित कार्ल मार्क्स’ समेत भनिएको स्मरण गर्दै उहाँले उहाँको विरासतलाई अझ प्रभावकारी रूपमा स्थापित गर्न मदन भण्डारी फाउन्डेसनले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो।
उहाँले मदन भण्डारीको मृत्यु ‘जीप दुर्घटना’को आवरणमा भएको षड्यन्त्रपूर्ण हत्या भएको दाबी गर्दै त्यसको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
त्यसै अवसरमा माधव नेपालले कम्युनिष्ट शक्तिहरूबीच सहकार्य र एकताको विकल्प नरहेको बताउँदै विगतमा जस्तै आज मिल्ने र भोलि फुट्ने प्रवृत्तिबाट मुक्त हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले सिद्धान्त, विचार, भावना र संगठनात्मक विधिमा आधारित दिगो तथा बलियो एकता निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।
पूर्वप्रधानमन्त्री नेपालले राष्ट्रिय हितका सवालमा वर्तमान सरकारको भूमिका शंकास्पद रहेको टिप्पणी पनि गर्नुभयो। विदेशी शक्तिहरूले नेपालमा प्रभाव विस्तार गर्न खोजिरहेको दाबी गर्दै त्यसप्रति कम्युनिष्ट दलहरू सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। नेपाललाई कुनै पनि छिमेकी राष्ट्रविरुद्ध गतिविधि सञ्चालन गर्ने केन्द्र बन्न नदिनुपर्ने उहाँको भनाइ थियो।
उहाँले जनताको अधिकारमाथि हस्तक्षेप गर्ने प्रयास भइरहेको दाबी गर्दै लोकतन्त्र र गणतन्त्रको रक्षा गर्न कम्युनिष्ट शक्तिहरूले अग्रसर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय हित, लोकतान्त्रिक व्यवस्था र गणतन्त्रको संरक्षणका लागि सबै वामपन्थी शक्तिहरू जिम्मेवार ढंगले अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।







प्रतिक्रिया दिनुहोस्