काठमाडौं २१ असार । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको छ।
यसको प्रभावले अहिले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका अधिकांश हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा सामान्य बदली रहनेछ भने कोशी, मधेस र बागमती प्रदेशका तराई भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
देशका हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, कोशी र बागमती प्रदेशका तराईका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, कोशी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुने सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।







प्रतिक्रिया दिनुहोस्