काठमाडौं २१ असार । नेपाल र बेलायतबीच व्यापार, लगानी तथा समग्र आर्थिक सहकार्यलाई थप सुदृढ र विस्तार गर्ने उद्देश्यले लन्डनस्थित नेपाली राजदूतावासद्वारा आयोजित नेपाल–बेलायत इकोनोमिक पार्टनरसिप फोरम २०२६ सम्पन्न भएको छ।
नीतिनिर्माता, सांसद, उद्योगपति, लगानीकर्ता, निजी क्षेत्रका प्रतिनिधि, प्रविधि विज्ञ, विकास साझेदार तथा बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिसहित १५० भन्दा बढी सहभागी रहेको फोरमले दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ चरणमा पुर्याउने विश्वास व्यक्त गरेको छ।
फोरमका क्रममा दुई महत्वपूर्ण समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ। पहिलो सम्झौता वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघबीच तथा दोस्रो वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच सम्पन्न भएको हो। लन्डनमा वेस्ट लन्डन चेम्बरका प्रमुख कार्यकारी अधिकृत एलन राइड्स र उपाध्यक्ष डा. रेणु राजले हस्ताक्षर गरेका थिए भने नेपाल उद्योग परिसंघका अध्यक्ष पृथ्वीराज पाण्डे र नेपाल ब्रिटेन चेम्बरका अध्यक्ष डा. रोशन राठीले काठमाडौंबाट भर्चुअल माध्यममार्फत हस्ताक्षर गरेका थिए।
सम्झौताले दुई देशका व्यापारिक समुदायबीच संस्थागत सहकार्य विस्तार गर्दै व्यापार तथा लगानीका अवसरहरूको प्रवर्द्धन, व्यावसायिक सम्बन्ध सुदृढीकरण तथा दीर्घकालीन साझेदारीलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ। नेपाली राजदूतावासले निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याई पारस्परिक हितका क्षेत्रमा सहकार्य र नयाँ व्यावसायिक अवसर खोज्ने उद्देश्यले फोरम आयोजना गरेको जनाएको छ।
फोरमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. शिशिर खनालले पठाएको सन्देशमा नेपाल सरकार अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन, प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने, पर्यटन विस्तार, प्रविधि हस्तान्तरणलाई सहज बनाउने, रोजगारी सिर्जना गर्ने तथा नेपाललाई विश्व अर्थतन्त्रसँग अझ मजबुत रूपमा जोड्ने दिशामा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। उनले जलविद्युत्, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार, उत्पादन, सूचना प्रविधि तथा डिजिटल सेवाजस्ता प्राथमिकताका क्षेत्रमा बेलायती लगानीलाई नेपालले स्वागत गर्ने बताएका छन्।
नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै हालै बेलायतकी इन्डो–प्यासिफिक तथा समानतामन्त्री सीमा मल्होत्राको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ ऊर्जा दिएको बताए। उनले सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा नेपाली जनशक्तिले विश्व बजारमा प्रतिस्पर्धात्मक सेवा दिइरहेको उल्लेख गर्दै नेपाल डिजिटल अर्थतन्त्रको महत्वपूर्ण साझेदार बन्न सक्ने विश्वास व्यक्त गरे।
बेलायती सांसद तथा नेपालका लागि सर्वदलीय संसदीय समूहकी अध्यक्ष एलेक्स बेकरले बेलायतले नेपाललाई अब केवल विकास सहायता प्राप्त गर्ने मुलुकका रूपमा नभई समान स्तरको विकास साझेदारका रूपमा हेर्नुपर्ने धारणा राखिन्। उनले ऐतिहासिक सम्बन्धलाई व्यापार, लगानी, शिक्षा, प्रविधि, अनुसन्धान र उद्यमशीलतामा आधारित व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन्।
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष कुल आचार्यले बेलायतस्थित नेपाली समुदायलाई नेपालका ठूला पूर्वाधार, जलविद्युत्, पर्यटन तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गरे। उनले नेपाल चीन र भारतजस्ता दुई ठूला अर्थतन्त्रको बीचमा रहेकाले यहाँ लगानीका विशाल सम्भावना रहेको बताए।
ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष बिराज भट्टले नेपालमा लगानीका लागि अहिले अनुकूल वातावरण बनेको दाबी गर्दै बेलायतस्थित नेपाली समुदायले लगानी प्रवर्द्धनमा सक्रिय भूमिका खेलिरहेको बताए। वेस्ट लन्डन चेम्बरका प्रमुख कार्यकारी एलन राइड्स, उपाध्यक्ष डा. रेणु राज तथा नेपाल ब्रिटेन चेम्बरका अध्यक्ष डा. रोशन राठीले पनि यी सम्झौताले द्विपक्षीय व्यापारिक सहकार्यलाई थप संस्थागत र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
फोरममा द्विपक्षीय व्यापार विस्तार, लगानी सहजीकरण, कृत्रिम बुद्धिमत्ता, प्रविधि हस्तान्तरण, आउटसोर्सिङ, व्यावसायिक सेवा, डिजिटल अर्थतन्त्र तथा बेलायतस्थित नेपाली समुदायको आर्थिक भूमिकालाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो। नेपाल लगानी बोर्डले नेपालका लगानीका अवसरबारे प्रस्तुतीकरण गरेको थियो भने ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट, यूके एक्सपोर्ट फाइनान्स तथा डिपार्टमेन्ट फर बिजनेस एन्ड ट्रेडका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
सहभागीहरूले बजार पहुँच विस्तार, लगानी प्रक्रिया सरल बनाउने, नीतिगत स्पष्टता कायम गर्ने, संस्थागत साझेदारी विकास गर्ने तथा सरकार, निजी क्षेत्र र लगानीकर्ताबीच निरन्तर संवादलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। यस्ता पहलले नेपाल–बेलायतबीच दीर्घकालीन र आपसी हितमा आधारित आर्थिक साझेदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमको सञ्चालन नेपाली राजदूतावासका द्वितीय सचिव सन्जोग राईले गरेका थिए।







प्रतिक्रिया दिनुहोस्