एडीबी अध्यक्ष मासातो कान्दासँग ‘वान-अन-वान’ वार्ता, मेरियटमा उच्चस्तरीय रात्रिभोज
यसअघि अमेरिकी, भारतीय उच्च अधिकारीलाई भेट्न अस्वीकार गरेका प्रधानमन्त्री अब आर्थिक कूटनीतितर्फ सक्रिय देखिँदै
काठमाडौं, । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री बनेपछि पहिलोपटक कुनै विदेशी उच्च प्रतिनिधिसँग औपचारिक वान-अन-वान (एक्लाएक्लै) भेटवार्ता गर्ने भएका छन्। एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दासँग आगामी मंगलबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने यो भेटलाई बालेन सरकारको विदेश नीति र आर्थिक कूटनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीका अनुसार मंगलबार बिहान १०:३० बजे हुने भेटमा नेपाल–एडीबी सहकार्य, विकास साझेदारी, पूर्वाधार, ऊर्जा, जलवायु वित्त, निजी क्षेत्रको लगानी तथा आगामी विकास परियोजनाबारे छलफल हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री बनेपछि पहिलो व्यक्तिगत कूटनीतिक भेट
प्रधानमन्त्री बनेयता बालेन्द्र शाहले राजनीतिक वा कूटनीतिक उद्देश्यले नेपाल आएका कुनै पनि विदेशी उच्च प्रतिनिधिलाई व्यक्तिगत रूपमा भेटेका थिएनन्। उनले विदेश सम्बन्धका विषयमा परराष्ट्र मन्त्रालयले नै नेतृत्व लिनुपर्ने नीति अपनाउँदै अधिकांश भेटघाट परराष्ट्र मन्त्रालयमार्फत गराएका थिए।
यस अवधिमा नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियासम्बन्धी विशेष दूत सर्जियो गोर लगायतका उच्च अधिकारीले प्रधानमन्त्रीसँग भेट गर्न पाएनन्।
त्यसैगरी भारतका विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण पनि प्रधानमन्त्रीसँग भेटको समय तय हुन नसकेपछि अन्तिम समयमा स्थगित भएको थियो। उक्त घटनालाई नेपाल–भारत कूटनीतिक सम्बन्धमा असामान्य संकेतका रूपमा समेत व्याख्या गरिएको थियो।
यही पृष्ठभूमिमा एडीबी अध्यक्षसँग हुने यो भेटलाई विशेष चासोका साथ हेरिएको छ।
सोमबार काठमाडौं आइपुग्दै कान्दा
एडीबी अध्यक्ष मासातो कान्दा सोमबार दिउँसो काठमाडौं आइपुग्ने कार्यक्रम छ।
नेपाल आगमनलगत्तै उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।
अर्थमन्त्रीसँगको भेटपछि नेपाल सरकार र एडीबीबीच विभिन्न विकास सहायता तथा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ।
मेरियट होटलमा विशेष रात्रिभोज
एडीबी अध्यक्षको सम्मानमा सोमबार साँझ नक्सालस्थित मेरियट होटलमा विशेष रात्रिभोज आयोजना गरिएको छ।
अर्थ मन्त्रालयका अनुसार उक्त कार्यक्रममा सरकारका उच्च अधिकारी, एडीबी प्रतिनिधिमण्डल तथा आर्थिक क्षेत्रसँग सम्बन्धित विशिष्ट व्यक्तिहरू सहभागी हुनेछन्।
नयाँ सरकार गठनपछि कुनै अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रमुखको सम्मानमा आयोजना हुन लागेको यो पहिलो औपचारिक उच्चस्तरीय रात्रिभोज हो।
आर्थिक कूटनीतिमा नयाँ संकेत?
प्रधानमन्त्री बालेन्द्र शाहले यसअघि राजनीतिक प्रकृतिका विदेशी प्रतिनिधिसँग दूरी कायम गरे पनि आर्थिक तथा विकास साझेदारीसँग जोडिएको संस्थाका प्रमुखलाई व्यक्तिगत रूपमा भेट्ने निर्णयले सरकारको प्राथमिकतामा आर्थिक कूटनीतिले स्थान पाएको संकेतका रूपमा हेरिएको छ।
नेपालको पूर्वाधार विकास, ऊर्जा, सडक, जलवायु परिवर्तन, सहरी विकास तथा निजी क्षेत्रको लगानीमा एडीबी लामो समयदेखि प्रमुख विकास साझेदार रहँदै आएको छ।
यसैकारण कान्दासँगको भेटले आगामी विकास साझेदारीको नयाँ दिशा तय गर्न सक्ने अपेक्षा गरिएको छ।
एडीबी किन महत्वपूर्ण?
एसियाली विकास बैंक नेपालका सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारहरूमध्ये एक हो। बैंकले ऊर्जा, सडक, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य तथा जलवायु अनुकूलनका क्षेत्रमा अर्बौं रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र अनुदान उपलब्ध गराउँदै आएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएपछि एडीबीका अध्यक्षको यो पहिलो नेपाल भ्रमण भएकाले यसलाई विकास साझेदारीको दृष्टिले पनि अर्थपूर्ण मानिएको छ।
बदलिँदै छ प्रधानमन्त्रीको कूटनीतिक शैली?
प्रधानमन्त्री बालेन शाहको कार्यशैलीबारे सुरुदेखि नै विदेशी कूटनीतिक वृत्तमा विभिन्न जिज्ञासा र चर्चा हुँदै आएको थियो। विशेषगरी विदेशी प्रतिनिधिलाई व्यक्तिगत भेट नदिने नीति असामान्य मानिएको थियो।
तर एडीबी अध्यक्षसँग हुने वान-अन-वान बैठकले प्रधानमन्त्रीले अब आर्थिक सहकार्यलाई प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय साझेदारसँग प्रत्यक्ष संवाद सुरु गर्ने संकेत दिएको विश्लेषण भइरहेको छ।
यद्यपि यसले प्रधानमन्त्रीको समग्र कूटनीतिक दृष्टिकोणमा परिवर्तनको संकेत हो वा केवल विकास साझेदारसँगको औपचारिक भेट मात्र हो भन्ने विषय आगामी दिनका गतिविधिबाट स्पष्ट हुने कूटनीतिक विश्लेषकहरूको भनाइ छ।







प्रतिक्रिया दिनुहोस्