काठमाडौं : सोमबार बिहान राजधानीका तीन प्रमुख सञ्चारमाध्यमका कार्यालयहरूलाई लक्षित गरी एकै समयमा शंकास्पद रूपमा गाडी पार्किङ गरिएको छ। तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको मुख्य प्रवेशद्वार (गेट) मै अवरोध पुग्ने गरी बेवारिसे अवस्थामा गाडीहरू छाडिएका हुन्।
बिहान साढे ७ बजेको आसपासमा उस्तै तरिकाले तीनवटै मिडिया हाउसको गेट छेकेर गाडी राखिएका कारण कार्यरत पत्रकार तथा कर्मचारीहरूलाई कार्यालय आवतजावत गर्न र रिपोर्टिङका लागि सवारीसाधन बाहिर निकाल्न समेत ठूलो बाधा पुगेको थियो।
एकै समयमा रहस्यमय अवरोध, क्रेनको सहयोगमा गाडी हटाइयो
मिडिया हाउसहरूको गेट झन्डै आधा भाग ढाक्ने गरी निजी नम्बर प्लेटका गाडीहरू छाडिएपछि सञ्चारगृहहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए। घटना लगत्तै नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोली सम्बन्धित स्थानमा पुगेको थियो। सुरुमा कान्तिपुरको गेटमा रहेको गाडीमा प्रहरीले ह्विल लक लगाएको थियो भने पछि तीनवटै स्थानबाट क्रेनको सहयोगमा ती शंकास्पद गाडीहरू हटाइएको छ।
यातायात व्यवस्था विभागको तथ्याङ्कअनुसार सञ्चारमाध्यम अगाडि राखिएका तीनवटा गाडीमध्ये दुईवटा व्यक्तिको र एउटा बैंकको नाममा दर्ता रहेको खुलेको छ:
- कान्तिपुर पब्लिकेशनको गेटमा: बा. प्रदेश-०१-०३४ च ८४८० नम्बरको गाडी, जुन सानिमा बैंकको नाममा रहेको पाइएको छ।
- अनलाइनखबरको गेटमा: बा. १२ च ८५४५ नम्बरको गाडी, जुन सुनिल पौडेलको नाममा दर्ता छ।
- हिमालय टेलिभिजनको गेटमा: बा. १० च १२५५ नम्बरको गाडी, जुन अन्य एक व्यक्तिको नाममा रहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी तथा प्रवक्ता पवन भट्टराईले घटनाबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन्। “हामीले शंकास्पद गाडीहरूलाई नियन्त्रणमा लिएर छानबिन गरिरहेका छौँ। ती गाडीहरू कसले, कुन उद्देश्यले र कसको निर्देशनमा त्यहाँ छाडेर गएका हुन् भन्नेबारे सत्यतथ्य पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ,” प्रवक्ता भट्टराईले भने।
पत्रकार महासंघको आपत्ति: ‘सञ्चारकर्ममा अवरोध र आतंक सिर्जना गर्ने प्रयास’
सञ्चारमाध्यमको स्वतन्त्रता र आवतजावतमा अवरोध पुर्याउने गरी भएको यस घटनाको सरोकारवालाहरूले कडा शब्दमा निन्दा गरेका छन्। नेपाल पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्दै यसलाई सञ्चारगृह र पत्रकारहरूमाथि आतंक सिर्जना गर्ने र सञ्चारकर्ममा अवरोध पुर्याउने नियोजित प्रयासको रूपमा ब्याख्या गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुर्याउने यो निन्दनीय र रहस्यमय घटनाको तत्काल छानबिन गर्न र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न महासंघ सम्बद्ध निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ।”
घटना लगत्तै नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मासहितको टोलीले अनलाइनखबर लगायतका मिडिया हाउसहरूमा पुगेर स्थलगत निरीक्षण गरेको थियो। अध्यक्ष शर्माले यो घटना सामान्य नभई शंकास्पद र नियोजित प्रकृतिको देखिएको भन्दै पत्रकार र मिडिया हाउसको सुरक्षाका विषयमा संवेदनशील हुन सरकारसँग जोडदार माग गरिन्। निरीक्षणका क्रममा अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेतले पत्रकारहरूलाई भयमुक्त र सुरक्षित वातावरणमा काम गर्ने वातावरण तयार गर्नका लागि भूमिका खेल्न महासंघको टोलीलाई आग्रह गरे।
घटनाको पृष्ठभूमि: समाचारकै कारण निशाना बनाइएको आशंका
यो रहस्यमय घटनाको सम्बन्ध मिडियाहरूले पछिल्लो समय उठाएका गम्भीर समाचारहरूसँग जोडिएको हुनसक्ने आशंका गरिएको छ। काठमाडौं महानगरपालिकाको प्रहरी बल र नेपाल प्रहरीको ज्यादतीका कारण गणेश नेपालीले आत्मदाह गरेपछि यी मिडिया हाउसहरूले प्रहरी र स्थानीय प्रशासनको ज्यादती, धरपकड तथा अव्यावहारिक जरिवाना प्रणालीमाथि निरन्तर प्रश्न उठाउँदै समाचारहरू प्रकाशन तथा प्रसारण गर्दै आएका थिए।
यसकै प्रतिशोध स्वरूप सञ्चारमाध्यमहरूलाई दबाबमा राख्न र सांकेतिक रूपमा तर्साउन यो हर्कत गरिएको हुनसक्ने अनुमान नागरिक समाज र पत्रकारिता क्षेत्रले गरेको छ। प्रहरीले गाडीधनी र गाडी छाड्ने व्यक्तिहरूको खोजी तीव्र बनाएको जनाए पनि यो समाचार तयार पार्दासम्म घटनाको मुख्य योजनाकारबारे ठोस तथ्य सार्वजनिक भइसकेको छैन।
मिडिया हाउसहरुले बिहानै ट्राफिक प्रहरीलाइ गेट अगाडी रोकिएको गाडी हटाउन खबर गरेका थिए। तर प्रहरीले बिहान ११ बजेपछि मात्र प्रक्रिया सुरु गरेको थियो।
तस्बिरहरू:

-1783922485.jpeg)








प्रतिक्रिया दिनुहोस्