काठमाडौं – नेपाल मिडिया सोसाइटीले विभिन्न सञ्चारगृहको कार्यालय प्रवेशद्वारमा निजी सवारीसाधन पार्किङ गरी समाचार संकलन, प्रकाशन तथा प्रसारणमा अवरोध पुर्याउने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सोसाइटीले सोमबार जारी गरेको विज्ञप्तिअनुसार बिहान करिब ७ बजे काठमाडौंको तीनकुनेस्थित कान्तिपुर दैनिक र कान्तिपुर टेलिभिजन, नयाँ बानेश्वरस्थित अनलाइनखबर तथा मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय प्रवेशद्वार अगाडि आवागमन अवरुद्ध हुने गरी रहस्यमय ढंगले निजी सवारीसाधन पार्किङ गरिएको थियो।
नेपाल मिडिया सोसाइटीले उक्त घटनालाई सञ्चारमाध्यमलाई त्रसित बनाउने र स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेपका रूपमा व्याख्या गरेको छ। यस्तो गतिविधिले नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा समेत असर पुग्ने उल्लेख गर्दै घटनाको निष्पक्ष अनुसन्धान गर्न र संलग्नमाथि हदैसम्मको कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
सोसाइटीले भविष्यमा सञ्चारगृहलाई आतंकित पार्ने वा समाचार संकलन तथा प्रसारणमा अवरोध पुर्याउने यस्ता गतिविधि नदोहोर्याउन सम्बन्धित पक्षलाई चेतावनीसमेत दिएको छ।
नेपाल मिडिया सोसाइटीका महासचिव बोधराज त्रिपाठीद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सञ्चारमाध्यमले निर्बाध रूपमा आफ्नो व्यावसायिक जिम्मेवारी निर्वाह गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरिएको छ।







प्रतिक्रिया दिनुहोस्