काठमाडौं, ३० असार । काठमाडौंका विभिन्न सञ्चारगृहको मूल गेट अवरुद्ध हुने गरी पार्किङ गरिएका सवारीसाधनलाई ट्राफिक प्रहरीले जरिवाना गरी छाडेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेका अनुसार कान्तिपुर, अनलाइनखबर र हिमालयन टेलिभिजन कार्यालयअगाडि राखिएका गाडीलाई ट्राफिक नियमअनुसार कारबाही गर्दै जरिवाना तिराएर छाडिएको हो।
तीनकुनेस्थित कान्तिपुर मिडिया ग्रुपको गेटअगाडि बा प्रदेश ०१–०३४ च ८४८० नम्बरको गाडी पार्क गरिएको थियो। सार्वजनिक भएको सीसीटीभी फुटेजमा मास्क, चस्मा र क्याप लगाएका एक व्यक्तिले सुरक्षा गार्डको आग्रहलाई बेवास्ता गर्दै गाडी छाडेर हिँडेको देखिएको थियो। उक्त गाडी रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका पूर्वसदस्य रवि जयसवालको नाममा रहेको खुलेको छ।
यस्तै, बुद्धनगरस्थित अनलाइनखबरको कार्यालयअगाडि बा १२ च ८५४५ नम्बरको गाडी पार्क गरिएको थियो। सो गाडी सुनिल पौडेलको नाममा दर्ता रहेको र पछि सुजन पौडेल नाम गरेका व्यक्तिले पार्किङ गरेको खुलेको प्रहरीले जनाएको छ।
त्यसैगरी, हिमालयन टेलिभिजनको कार्यालयअगाडि बा १० च १२५५ नम्बरको गाडी राखिएको थियो, जुन धुम्बाराहीस्थित डीआर अटोमोटिभ्सको नाममा दर्ता रहेको खुलेको छ।
घटनापछि प्रहरीलाई शंकास्पद वस्तु राखिएको हुनसक्ने सूचना प्राप्त भएपछि बम डिस्पोजलसहित सुरक्षा जाँच गरिएको थियो। कुनै विस्फोटक वा शंकास्पद सामग्री फेला नपरेपछि क्रेनमार्फत गाडीहरू काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय लगिएको थियो।
एसएसपी काफ्लेका अनुसार सोमबार काठमाडौंका १४ स्थानमा अनधिकृत रूपमा पार्किङ गरिएका सवारीसाधनमाथि कारबाही गरिएको छ। अनामनगरस्थित भाटभटेनी, नेपाली कांग्रेसका सभापति गगन थापाको घरअगाडि तथा नयाँ बानेश्वरलगायतका क्षेत्रमा पनि यस्तै प्रकृतिका सवारी फेला परेका थिए।
प्रहरीका अनुसार सम्बन्धित व्यक्तिसँग सामान्य सोधपुछ गरी ट्राफिक ऐनबमोजिम जरिवाना गरिएको हो। “कतिपयले अरूले गाडी राखेको, चालकले लगेको वा आफूलाई जानकारी नभएको बताएका छन्। यस्तो कार्य दोहोरिन नदिन चेतावनीसमेत दिएका छौं,” एसएसपी काफ्लेले बताउनुभयो।
सञ्चारगृहको प्रवेशद्वार अवरुद्ध हुने गरी एकै समयमा विभिन्न स्थानमा गाडी पार्क गरिएपछि यस घटनाको व्यापक विरोध भएको थियो। विपक्षी दल, पत्रकार महासंघ तथा विभिन्न संघ–संस्थाले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।







प्रतिक्रिया दिनुहोस्