काठमाडौं, ३ साउन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को पूर्वतयारी अन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेली, ड्रोन र र्याफ्टिङ उपलब्ध गराउन आग्रह गर्ने भएको छ । विपद्मा परेका व्यक्तिको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी प्राधिकरणले निजी क्षेत्रसँग गरेको पूर्व सम्झौताअनुसार हेली, ड्रोन र र्याफ्टिङ उपलब्धका लागि आग्रह गर्न लागेको हो ।
जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न ठाउँमा आज पनि मुसलधारे वर्षाको पूर्वानुमान गरेसँगै २३ जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी पूर्वतयारीलाई सुदृढ बनाएको छ । कोशीका ९ जिल्ला झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर र खोटाङ, बागमतीका ६ जिल्ला, चितवन, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुली र सिन्धुपाल्चोक तथा गण्डकीका ८ जिल्ला गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ र म्याग्दीमा उच्च जोखिम पहिचान गरिएको छ । प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित विपद्को अवस्थामा तत्काल उद्धारका लागि काठमाण्डौ, इटहरी, भैरहवा र सुर्खेतमा नेपाली सेनाका चार वटा हेलिकप्टर तैनाथ रहेको जानकारी दिँदै आवश्यक पर्दा निजी क्षेत्रसँग निजी क्षेत्रसँग हेली, ड्रोन र र्याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्