काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्श आत्मसात् गर्न आवश्यक रहेको बताएकी छन्।
तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानले ललितपुरको च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गरेको उल्लेख गर्दै उनको त्याग, इमानदारी र जनसेवाको आदर्श वर्तमान तथा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिन्।
पूर्वराष्ट्रपति भण्डारीले पछिल्ला दिनमा सुनसरीसहित पूर्वी तराईका केही जिल्लामा देखिएका तनाव र हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र भएकाले विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव जोगाउन सबैले संयमता अपनाउनुपर्नेमा जोड दिइन्।
उनले अफवाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानुनी शासन सुदृढ बनाउन सबै नेपालीलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरिन्।
भण्डारीले वर्तमान लोकतान्त्रिक उपलब्धिका पछाडि तुल्सीलाल अमात्यजस्ता अग्रजहरूको लामो संघर्ष, त्याग र समर्पण रहेको उल्लेख गर्दै उनीहरूलाई सम्झनु भनेको केवल इतिहासको स्मरण मात्र नभई उनीहरूको आदर्श र मूल्यलाई व्यवहारमा उतार्नु पनि भएको बताइन्।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेका नेकपाका सहसंयोजक माधवकुमार नेपाल र पूर्वअध्यक्ष केशवप्रसाद बडाललाई सम्मान गरिएको थियो। साथै हाजिरीजवाफ प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिएको थियो।
पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालले तुल्सीलाल अमात्यले प्रतिष्ठित जीवन बिताउने अवसर हुँदाहुँदै किसान, मजदुर र उत्पीडित समुदायको हक–अधिकारका लागि संघर्षको कठिन बाटो रोजेको उल्लेख गरे। उनले अग्रज नेताहरूको त्याग र समर्पणबाट नै मुलुकमा लोकतन्त्र स्थापना भएको भन्दै अमात्यले पार्टी निर्माण, किसान आन्दोलन, लोकतान्त्रिक अधिकारको रक्षा तथा शोषण र सामन्ती उत्पीडनविरुद्ध पुर्याएको योगदानको संरक्षणमा आफूहरू प्रतिबद्ध रहेको बताए।
Originally published on abcnews.com.np.













प्रतिक्रिया दिनुहोस्