काठमाडौँ — बजारमा खाना पकाउने एलपी ग्यास पाउन उपभोक्तालाई सकस भएको छ । गत फागुनमा ग्यासको यस्तै अभाव भोगेका उपभोक्ताले अहिले फेरि लाइन बस्नुपरेको छ । निगमले कोटा अनुसार आयात नियमित भइरहेको बताए पनि उपभोक्ताले एक सातादेखि ग्यास पाउन सकेका छैनन् ।
किन अभाव भयो ?
नेपाल आयल निगमले गत ३० असारदेखि पूर्ण तौल (१४.२ केजी) का सिलिन्डर बिक्री खुला गरेको थियो । यसअघि गत २८ फागुनदेखि आधा तौलका सिलिन्डर मात्र वितरण गरिँदै आएको थियो । निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार पूर्ण तौलको सिलिन्डर बिक्री खुला गरेसँगै खाली सिलिन्डर भर्ने ग्राहक धेरै आउँदा माग बढी भएको हो ।
एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले पछिल्लो चार महिना आधा तौलको सिलिन्डर बिक्री गर्दा बढी सिलिन्डर बजारमा गएको र केही ग्राहक पूर्ण तौलको भर्न आएनन् भन्नुभयो । “अहिले पूर्ण तौलको सिलिन्डर दिन थालेपछि खाली सिलिन्डर भर्न आएपछि माग बढ्दा अभाव देखिएको हो,” उहाँले भन्नुभयो ।
नेपाल ग्यास विक्रेता महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले केही उद्योगले रिफिलिङ प्लान्टबाट सिलिन्डर बिक्री गरेकाले बजारमा अभाव भएको र माग धेरै भए पनि उद्योगीले डिलरकहाँ कम ग्यास पठाएकाले उपभोक्ताले सहजै पाउन नसकेको बताउनुभयो ।
आयातको अवस्था
इन्डियन आयल कर्पोरेसन (आइओसी) ले कोटा अनुसार ग्यास नियमित रूपमा दिइरहेको निगमले जनाएको छ । निगमका अनुसार गत चैतमा ३८ हजार मेट्रिक टन, वैशाखमा ३२ हजार, जेठमा ३३ हजार र असारमा ४४ हजार मेट्रिक टन ग्यास आयात भएको थियो । साउन १५ सम्म २६ हजार मेट्रिक टन ग्यास आयात भएको छ । सामान्य अवस्थामा मासिक ४५ हजारदेखि ५० हजार मेट्रिक टन ग्यास खपत हुन्छ ।
निगमको प्रयास
निगमले बजारमा एक्कासि माग बढेपछि आपूर्ति सहज बनाउन शनिबारदेखि टेकु कार्यालयबाट वितरण सुरु गरेको छ । बिहान ११:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर वितरण गरिँदै छ । टेकु कार्यालयमा आइतबार ग्यास लिनेको भिड लागेको निगमले जनाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन कालीमाटीमा समेत उपभोक्ताको लाइन लागेको छ ।
निगमका प्रवक्ता ठाकुरले ग्यासको आयात नियमित भइरहेकाले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न उपभोक्तालाई आग्रह गर्नुभयो । उद्योग सङ्घका अध्यक्ष श्रेष्ठले हप्ता/१० दिनमा अभाव कम भई ग्यासको आपूर्ति सहज हुने दाबी गर्नुभयो ।
बजारमा विशेष गरी नेपाल, एचपी, गीतालगायतका ग्यास सिलिन्डरको बढी अभाव छ । ५९ वटा ग्यास उद्योगले ग्यास आयात गरी वितरण गर्दै आएका छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्