काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण सबै पालिकामा सुरु गर्न निर्देशन दिएका छन् । पार्टीका प्रदेश कमिटीका पदाधिकारी र मिसन पार्टी जागरणका केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी निर्माणको महत्वपूर्ण अभियान भएको बताए ।
पोखरेलले पार्टीको जनतासँग टुटेको सम्बन्धलाई जोड्ने उद्देश्यका साथ सुरु गरिएको अभियानलाई सफल पार्नुपर्ने बताए । पार्टी कमिटी मात्र नभई जनसंगठनहरू पनि परिचालन गर्ने योजना बनाइएकाले सोही अनुसार परिचालित हुन उनको आग्रह छ ।
पार्टी जागरण अभियान यतिबेला जिल्ला कमिटीहरूका बैठक गरी कार्यक्रम बनाई अगाडि बढाइँदै छ । पार्टीले पालिका तहसम्म केन्द्रीय प्रतिनिधि खटाएको छ ।
महासचिव पोखरेलले पार्टी विस्तारको दायरा फराकिलो बनाउन र वर्ग, समुदाय र पेसागत क्षेत्र समेटेर जागरण अभियान सम्पन्न गर्न सुझाव दिए ।
महासचिव पोखरेलले संगठनात्मक पुनर्गठनको काम तलैदेखि गर्नुपर्नेमा जोड दिए । पार्टीका स्थानीय कमिटीहरू चलायमान बनाउने कुरामा ध्यान दिनु जरुरी रहेको र त्यसका लागि कमिटीहरु पुनर्गठन, कमिटीमा रिक्त रहेका स्थान पूर्ति गर्न निर्देशन दिए ।
पार्टीमा युवा सहभागिता वृद्धिका लागि विगतमा युवा परिचालन, युवाको नेतृत्व विकास, युवालाई कमिटीमा आरक्षणलगायत नीति अगाडि सारिएको छ । तर, व्यवहारमा लागु हुन नसकेको उनले औंल्याए ।
महासचिव पोखरेलले पार्टी जागरण अभियान पनि निर्देशन नै निर्देशनमा समय नगुज्रियोस् भन्नेतर्फ समेत गराएका छन् ।
Originally published on abcnews.com.np.















प्रतिक्रिया दिनुहोस्