म्याग्दी । विद्यालयका सामान्य ज्ञानका पुस्तकदेखि लोकसेवा आयोगका तयारी कक्षासम्म बारम्बार सोधिने प्रश्न हो— ‘भाले बास्ने ताल कहाँ पर्छ?’लाखौं विद्यार्थीले यसको उत्तर कण्ठ पारेका छन्। तर विडम्बना, उत्तर लेख्नेहरू धेरै भए पनि वास्तविक तालसम्म पुग्नेहरू भने निकै कम छन्।
हिमाली जिल्ला म्याग्दीको मालिका गाउँपालिका–६ मा अवस्थित भाले बास्ने ताल नेपालका चर्चित तर सबैभन्दा कम भ्रमण गरिएका प्राकृतिक गन्तव्यमध्ये एक बनेको छ। नामले देशभर परिचित भए पनि प्रचारप्रसार, पहुँच र पूर्वाधार अभावका कारण यो पर्यटकीय सम्पदा अझै ओझेलमै छ।
मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा भन्छन्, “भाले बास्ने ताल पुस्तकका पानामा धेरै चर्चित छ, तर वास्तविक गन्तव्यका रूपमा अझै पर्याप्त चिनिन सकेको छैन। यो नामले चर्चित तर व्यवहारमा ओझेल परेको पर्यटकीय सम्पदा हो।”
४५ मिनेटको पदयात्रापछि खुल्छ प्रकृतिको अनुपम संसार
म्याग्दी सदरमुकाम बेनीबाट बेनी–दरवाङ सडक हुँदै तोलाबाङ पुगेपछि बायाँतर्फको सडक समातेर दुखु गाउँसम्म पुग्न सकिन्छ। त्यहाँबाट करिब ४५ मिनेटको पदयात्रा गरेपछि भाले बास्ने तालको आसपास पुग्न सकिन्छ।
अर्को पदमार्ग दुखु खोलाको किनारैकिनार उकालो लाग्दै जंगलको बीचबाट अघि बढ्छ। बाटोभरि चराचुरुङ्गीको चिरबिर, चिसो हावा, वनस्पतिको सुगन्ध र प्राकृतिक हरियालीले यात्रालाई रोमाञ्चक बनाइदिन्छ।
मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाका अनुसार प्रारम्भिक उकालो केही कठिन भए पनि त्यसपछि समथर र रमणीय पदमार्गले यात्रुलाई प्रकृतिसँग जोड्ने अनुभव दिलाउँछ।
नाम पछाडिको रोचक जनविश्वास
स्थानीय जनविश्वासअनुसार परापूर्वकालमा ताल आसपासको जंगलमा बिहान सबेरै भालेले बास्ने आवाज गुन्जिने गर्थ्यो। त्यही कारण यस तालको नाम ‘भाले बास्ने ताल’ रहन गएको मानिन्छ।
ताल जंगलको बीच गहिरो खोंचमा रहेको सानो तर अत्यन्त आकर्षक प्राकृतिक जलाशय हो। वरिपरिको घना वन, शान्त वातावरण र हरियालीले यहाँ पुग्ने जो–कोहीलाई मोहित बनाउने स्थानीय बताउँछन्।
प्राकृतिक सौन्दर्यसँगै जैविक विविधताको धनी क्षेत्र
दरवाङका पर्यटन व्यवसायी सन्तोष सुवेदीका अनुसार प्रचारप्रसार कमजोर भएकाले पर्यटकको संख्या कम भए पनि एकपटक पुगेका अधिकांश पर्यटक यहाँको प्राकृतिक सौन्दर्यबाट प्रभावित हुने गरेका छन्।
ताल आसपासको क्षेत्रमा कालिज, तित्रालगायत विभिन्न चराचुरुङ्गी, दुर्लभ वनस्पति तथा प्राकृतिक जलस्रोत पाइने भएकाले यो क्षेत्र जैविक विविधताका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ।
स्थानीय युवा जीवन पुन भन्छन्, “ताल नजिक पुग्नेबित्तिकै यात्राको सबै थकान हराउँछ। जंगलको बीचमा रहेको यो तालले प्रकृतिको स्वर्गीय अनुभूति गराउँछ।”
आस्था र पर्यटनको संगम
भाले बास्ने ताल केवल प्राकृतिक सम्पदा मात्र होइन, धार्मिक आस्थाको केन्द्र पनि हो। ताल नजिकै मालिका गाउँपालिकाको सहयोगमा रेलिङसहितको मन्दिर निर्माण गरिएको छ।
गाउँपालिकाको ४ लाख रुपैयाँ तथा स्थानीयको जनश्रमदानसहित कुल ४ लाख ३४ हजार रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको मन्दिरले धार्मिक पर्यटनलाई पनि टेवा पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीयको सक्रियतामा पदमार्ग निर्माण भएपछि तालसम्म पुग्न केही सहज भएको छ।
साहसिक पदयात्राको नयाँ सम्भावना
म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाइका सल्लाहकार मोतिराज गौतमका अनुसार गाडी यात्रापछि छोटो पदयात्रामै पुग्न सकिने भएकाले भाले बास्ने ताललाई साहसिक पदयात्रा (हाइकिङ) तथा इको–टुरिजमको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिन्छ।
उनका अनुसार स्थानीय संस्कृति, धार्मिक आस्था, प्राकृतिक सम्पदा र जैविक विविधतालाई जोडेर योजनाबद्ध पर्यटन विकास गर्न सके यस क्षेत्रले स्थानीय रोजगारी र ग्रामीण अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुर्याउन सक्छ।
चुनौती अझै उस्तै
यद्यपि तालसम्म पुग्ने सडकको अवस्था, पर्याप्त सूचना अभाव, पर्यटकीय पूर्वाधारको कमी र प्रभावकारी प्रचारप्रसार नहुनु यस क्षेत्रको मुख्य चुनौती बनेको छ। त्यसैले सामान्य ज्ञानका पुस्तकमा चर्चित भए पनि भाले बास्ने ताल अझै व्यापक पर्यटकको गन्तव्य बन्न सकेको छैन।
पुस्तकको उत्तरबाट वास्तविक गन्तव्यतर्फ
भाले बास्ने तालले एउटा रोचक यथार्थ उजागर गर्छ—देशभरका विद्यार्थीले यसको नाम त पढ्छन्, तर वास्तविक सौन्दर्य भने निकै कमले मात्रै देख्न पाउँछन्। प्राकृतिक, धार्मिक र जैविक विविधताले सम्पन्न यो गन्तव्यलाई योजनाबद्ध रूपमा प्रवर्द्धन गर्न सके म्याग्दीको पर्यटन नक्सामा नयाँ आकर्षण थपिन सक्ने सम्भावना प्रबल देखिन्छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्