काठमाडौं । काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप व्यवस्थापन गर्न सरकारले सहरी यातायात प्रणाली गुरुयोजना अघि बढाउने तयारी गरेको छ ।
गुरुयोजनाअन्तर्गत सबैभन्दा बढी यात्रु चाप रहेको पूर्व–पश्चिम रुटमा रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म १४ दशमलव ६ किलोमिटर लामो मेट्रो रेल सञ्चालनको प्रस्ताव गरिएको छ । हाल सरोकारवालासँग छलफलमा रहेको योजना मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि विस्तृत परियोजना प्रतिवेदन अर्थात् डीपीआरको प्रक्रियामा जानेछ ।
जाइकाको अध्ययनले समयमै वैकल्पिक यातायात प्रणाली विकास नगरे सन् २०५० सम्म काठमाडौं उपत्यकाको यातायात प्रणाली ग्रिडलक हुने चेतावनी दिएको छ । हालै प्रमुख पूर्व–पश्चिम कोरिडोरमा यात्रुको चाप प्रतिकिलोमिटर १ लाख ५० हजारदेखि २ लाखसम्म पुगेको अध्ययनमा उल्लेख छ ।
गुरुयोजनाले पूर्व–पश्चिम, उत्तर–दक्षिण र चक्रपथ गरी तीनवटा मुख्य मास ट्रान्जिट रुट प्रस्ताव गरेको छ । पूर्व–पश्चिम रुटमा मेट्रो रेल र चक्रपथमा द्रुत बस सेवा सञ्चालनको विकल्प अघि सारिएको छ ।
सरकारले गुरुयोजनामा सर्वसाधारणको राय–सुझाव लिएर मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने तयारी गरेको छ । त्यससँगै पूर्व–पश्चिम मास ट्रान्जिटको पूर्व–सम्भाव्यता अध्ययन पनि अघि बढाइनेछ ।
अध्ययनले मेट्रो, लिनियर मेट्रो, मोनोरेल र एजीटी गरी चार विकल्पको तुलना गरेको छ । यात्रु बोक्ने क्षमता र वातावरणीय प्रभावका आधारमा मेट्रो तथा लिनियर मेट्रोलाई प्रभावकारी मानिएको छ भने लागत र भौगोलिक लचकतालाई हेर्दा लिनियर मेट्रो, मोनोरेल तथा एजीटीलाई पनि विकल्पका रूपमा अघि सारिएको छ ।
यसैबीच, उपत्यकामा पैदल यात्रा घट्दै मोटरसाइकल प्रयोग बढेको अध्ययनले देखाएको छ । सन् १९९१ मा ५३ दशमलव १ प्रतिशतले पैदल यात्रा गर्ने गरेकोमा सन् २०२४ मा यो घटेर ३१ दशमलव ८ प्रतिशतमा पुगेको छ । सोही अवधिमा मोटरसाइकल प्रयोग ४ दशमलव ५ प्रतिशतबाट बढेर ३८ दशमलव ४ प्रतिशत पुगेको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्