काठमाडौं । इरानले अमेरिकाले आफ्ना ६ वटा माग पूरा नगरेसम्म रणनीतिक महत्त्वको होर्मुज जलमार्ग नखोल्ने स्पष्ट पारेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बागेर जोल्घादरले प्रतिबन्ध खुकुलो पार्नेदेखि युद्धबाट भएको क्षतिको क्षतिपूर्ति र इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने माग अघि सारेका हुन्।
बीबीसी फारसीका अनुसार इरानले अमेरिकासँग इरानविरुद्धका प्रतिबन्ध खुकुलो पार्न, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिन, इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी तत्काल हटाउन, इरानविरुद्धका धम्की रोक्न तथा रोक्का वा कब्जा गरिएका इरानी सम्पत्ति फुकुवा गर्न माग गरेको छ। विश्लेषकहरूले यी माग इरानका अघिल्ला अडानकै निरन्तरता भए पनि होर्मुजका विषयमा तेहरानको कडा अडान स्पष्ट भएको बताएका छन्।
यसैबीच इरान र ओमानबीच होर्मुज जलमार्गबाट व्यावसायिक जहाजको आवागमनका लागि नयाँ व्यवस्थाबारे भएको वार्तालाई दुवै पक्षले सकारात्मक र रचनात्मक भनेका छन्। इरानी विदेशमन्त्री अब्बास अराघचीले ओमानसँगको वार्ता अन्तिम चरणमा पुगेको बताए पनि सम्झौता हुँदैमा होर्मुज तत्काल खुल्ने ग्यारेन्टी नरहेको स्पष्ट पारेका छन्।
यसअघि रोयटर्सले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरान र ओमानबीचको वार्तामा प्रगति भएको र अमेरिकाले छिट्टै सम्झौता हुने अपेक्षा गरेको जनाएको थियो। ती अधिकारीका अनुसार होर्मुजबाट व्यावसायिक जहाजको निर्वाध आवागमन सुनिश्चित गर्ने सम्झौता भएपछि अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने सम्भावना रहेको छ। –एजेन्सी
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्