काठमाडौं । नेपालको ठूलो रिटेल चेन भाटभटेनी सुपरमार्केटले आफ्ना स्टोरहरूलाई क्रमशः २४ घण्टा सञ्चालनमा ल्याउने तयारी थालेको छ। पहिलो चरणमा काठमाडौं उपत्यकाका दुई स्टोरबाट रातिको समयमा पनि ग्राहकलाई सेवा दिने तयारी गरिएको हो।
भाटभटेनी सुपरस्टोरका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलका अनुसार अहिले रातिको समयमा स्टोरमा सामान व्यवस्थापन, स्टक मिलाउने, मूल्य ट्याग राख्ने र सरसफाइलगायतका काम भइरहेको छ। भदौ १ गतेदेखि भने राति पनि ग्राहकले प्रत्यक्ष किनमेल गर्न सक्ने गरी सेवा सुरु गर्ने तयारी छ।
रातिको बिक्री सेवा पहिलो चरणमा पाटन र भक्तपुरको राधेराधेमा रहेका भाटभटेनी स्टोरबाट सुरु गरिने पौडेलले बताए।
उनका अनुसार त्यसपछि काठमाडौं उपत्यकाका कलंकी, बौद्ध, टंगाल, कोटेश्वर लगायतका अन्य स्टोरमा समेत रात्रिकालीन सेवा विस्तार गर्ने योजना छ।
हाल भाटभटेनीका स्टोरहरू सामान्यतः बिहान ७ः३० बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुँदै आएका छन्।
भाटभटेनीले रातिको समयमा स्टोर सञ्चालन गर्नुको एउटा उद्देश्य सामान ढुवानीका कारण दिनमा हुने सवारी चाप घटाउनु पनि रहेको जनाएको छ।
पौडेलका अनुसार काठमाडौंमा भाटभटेनीका लागि सामान ओसारपसार गर्दा दैनिक करिब ४०० पटकसम्म सवारी आवागमन हुने गरेको छ। रातिको समयमा सामान ढुवानी गर्दा एउटै अवधिमा करिब २० वटा गाडीमार्फत आवश्यक सामान व्यवस्थापन गर्न सकिने उनको भनाइ छ।
यसले ग्राहकको किनमेल समय विस्तार गर्नुका साथै शहरको ट्राफिक व्यवस्थापनमा समेत केही सहजता ल्याउने अपेक्षा भाटभटेनीको छ।
राति काम गर्ने कर्मचारीलाई २५ प्रतिशत अतिरिक्त भत्ता
रात्रिकालीन सेवाका लागि कर्मचारी व्यवस्थापनलाई समेत भाटभटेनीले प्राथमिकता दिएको छ।
रातिको सिफ्टमा काम गर्ने कर्मचारीलाई नियमित तलबबाहेक २५ प्रतिशत अतिरिक्त भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ। उनीहरूका लागि रातिको समयमा चिया, खाजा लगायतका अतिरिक्त सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ।
देशभर २७ आउटलेट
भाटभटेनीका हाल देशभर २७ वटा आउटलेट सञ्चालनमा छन्। उपत्यकामा रातिको सेवा सफल भए अन्य स्टोरमा पनि क्रमशः यस्तो व्यवस्था विस्तार गर्ने कम्पनीको योजना छ।
यसअघि भाटभटेनीका स्टोरहरूमा ग्राहकको आवागमनकै समयमा सामान मिलाउने, स्टक व्यवस्थापन तथा सरसफाइ गर्नुपर्ने अवस्था थियो। त्यसले ग्राहकको किनमेलमा समेत केही असहजता सिर्जना गर्ने भएकाले रातिको समयलाई व्यवस्थापन र बिक्री दुवैका लागि उपयोग गर्ने रणनीति कम्पनीले अघि सारेको हो।
गत वर्षको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका एक दर्जनभन्दा बढी स्टोरमा आगजनी भएको थियो। तीमध्ये अधिकांश स्टोर पुनः सञ्चालनमा आइसकेका छन्।
रातिको किनमेल संस्कृति विस्तार हुँदै गएको अवस्थामा भाटभटेनीको २४ घण्टा सेवा नेपालको रिटेल बजारमा नयाँ अभ्यास बन्ने देखिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्