ओखलढुंगा । दोलालघाटबाट सुनकोसी नदीमा हाम फालेर बेपत्ता भएका दम्पतीमध्ये ६७ वर्षीया तिलकुमारी पराजुलीको शव आइतबार साँझ फेला परेको छ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ निवासी तिलकुमारीको शव ओखलढुंगाको हर्कपुरस्थित सुनकोसी नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख राजबाबु महर्जनले जानकारी दिनुभयो।
गत बुधबार तिलकुमारी र उनका श्रीमान् ६८ वर्षीय केदार पराजुली दोलालघाट नजिकै सुनकोसी नदीमा हाम फालेर बेपत्ता भएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार केदारले क्यान्सरबाट पीडित श्रीमती तिलकुमारीलाई पिठ्युँमा बोकेर नदीमा हाम फालेको खुलेको छ।
तिलकुमारी क्यान्सरको उपचार गराइरहेकी थिइन् भने उनका श्रीमान् केदारले उनको स्याहार गर्दै आएका थिए। पछिल्लो समय केदारमा समेत स्वास्थ्य समस्या देखिएपछि दुवैजनाले नदीमा हाम फाल्ने निर्णय गरेको हुनसक्ने प्रहरीले जनाएको छ।
पति केदारको खोजी जारी
प्रहरी प्रमुख महर्जनका अनुसार तिलकुमारीको शव सुनकोसी नदी किनारमा फेला परेको हो।
उनका श्रीमान् केदार पराजुली भने अझै बेपत्ता छन्। प्रहरीले केदारको खोजीका लागि आवश्यक टोली परिचालन गरी खोजी कार्य जारी राखेको जनाएको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्