काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको शासकीय शैलीप्रति प्रश्न उठाउँदै जताततै ‘छोटे राजा’ देखिन थालेको टिप्पणी गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले सरकार शासकीय अराजकताबाट बरालिएको आरोप लगाए।
उनले राज्यका विभिन्न निकायले आफ्नो संवैधानिक सीमा नाघ्न थालेको दाबी गरे। कार्यपालिकाले न्यायपालिका, संवैधानिक निकाय र संसद्समेत आफ्नो आदेशपालक भएको ठान्न थालेको उनको आरोप छ।
“विस्तारै शासकीय शैली कस्तो बन्न थाल्यो भने, जताजतै छोटे राजाहरू देखिन थाले। यसले विस्तारै धेरै कुरामा डुबाउन सक्छ,” थापाले भने, “यो सरकार बरालिएको छ, खबरदारी गरेर ल्याउने काम हाम्रो हो।”
थापाले सरकारलाई आफ्नो अधिकारको सीमा नाघ्ने छुट दिन नहुने बताए। “कार्यपालिकाले न्यायपालिकाको सीमा पनि मैभित्र पर्छ भन्न थाल्यो। संवैधानिक निकाय पनि मेरो आदेशपालक हो भन्न थाल्यो। संसद् पनि मेरो आदेशपालक हो भन्न थाल्यो,” उनले भने।
उनले सरकारको यस्तो प्रवृत्तिले राज्य शासकीय अराजकताबाट आक्रान्त भएको भन्दै कांग्रेसले खबरदारी गर्नुपर्ने बताए।
सरकारको कार्यशैलीलाई सडकको लेनसँग तुलना गर्दै थापाले गति बढाउन सकिए पनि लेन मिच्न नपाइने बताए। “तपाईंले लेन मिच्न पाउनुहुन्न, स्पिड बढाउन पाउनुहुन्छ, ब्रेक नलगाउन पाउनुहुन्छ। तर लेनभन्दा बाहिर जान पाउनुहुन्न,” उनले भने।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्