काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा प्रशासनमा लामो समयदेखि देखिँदै आएका नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि सुधारको पहल अघि बढाएको छ।
मन्त्रालयले शिक्षा क्षेत्रका समस्या पहिचान गरी सरोकारवालासँग निरन्तर संवाद, छलफल र पृष्ठपोषण लिँदै समाधानको प्रक्रिया अघि बढाएको जनाएको छ। कतिपय विषयमा मन्त्रालय आफैँले समस्या विश्लेषण गरी समाधानको बाटो पहिल्याइरहेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जिम्मेवारी सम्हालेदेखि विद्यालयदेखि विश्वविद्यालय तहसम्मका समस्या समाधानलाई प्राथमिकता दिएको मन्त्रालयको भनाइ छ। सरकारले कक्षा पाँचसम्मका विद्यार्थीलाई परीक्षा लिने परिपाटी अन्त्य गरी निरन्तर मूल्याङ्कन प्रणाली लागू गरेको छ। यसबाट बालबालिकालाई परीक्षाको तनाव कम हुने अपेक्षा गरिएको छ।
यसैबीच राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष एसइई परीक्षा सकिएको २९ दिनमै नतिजा सार्वजनिक गरेको छ। कक्षा १२ को नतिजासमेत ३९ दिनमै सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।
विश्वविद्यालय सुधारतर्फ पनि मन्त्रालयले नयाँ प्रक्रिया अघि बढाएको छ। भागबन्डाका आधारमा नियुक्त गरिएका पदाधिकारीलाई हटाएर प्रतिस्पर्धाका आधारमा नयाँ पदाधिकारी नियुक्त गर्ने प्रक्रिया सुरु गरिएको छ। अधिकांश विश्वविद्यालयमा उपकुलपति नियुक्त भइसकेका छन् भने शिक्षाध्यक्ष, रजिस्ट्रारलगायत पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ।
अध्ययन बिदामा गएर तोकिएको अवधिमा नफर्किएका त्रिभुवन विश्वविद्यालयका करिब चार सय प्राध्यापकबाट असुल गर्नुपर्ने करिब दुई अर्ब रुपैयाँमध्ये हालसम्म करिब ५० करोड रुपैयाँ फिर्ता भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले शिक्षा नियमावलीको दशौँ संशोधन गर्नुका साथै विदेशी शैक्षिक कार्यक्रम तथा शैक्षिक परामर्श, भाषा शिक्षण र तयारी कक्षासम्बन्धी नयाँ नियमावलीसमेत ल्याएको छ। २०२८ सालको शिक्षा ऐनलाई प्रतिस्थापन गर्ने गरी नयाँ शिक्षा ऐन ल्याउने तयारी भइरहेको मन्त्री पोखरेलले बताएका छन्।
त्यसैगरी, प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मको पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्ने प्रक्रिया अघि बढाइएको छ। पाठ्यक्रम प्रारूप परिमार्जनका लागि काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्राडा बालचन्द्र लुइटेलको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।
शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले शिक्षा क्षेत्रका समस्या समाधानका लागि मन्त्रीले तत्काल निर्णय गर्ने गरेको बताएका छन्। यद्यपि, कतिपय निर्णय हतारमा गर्दा समस्या आउन सक्ने भएकाले निर्णय गर्दा पर्याप्त सावधानी अपनाउनुपर्ने उनको सुझाव छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्