काठमाडौं । भारतको झारखण्डमा लोकसेवा आयोग (जेपीएससी) र कर्मचारी चयन आयोग (जेएसएससी)का भर्ना परीक्षामा धाँधली, ढिलासुस्ती तथा प्रश्नपत्र चुहावटलगायत विषयमा जारी विद्यार्थी आन्दोलन १७औँ दिनमा निर्णायक मोडमा पुगेको छ।
सरकारसँग आइतबार भएको तेस्रो चरणको वार्ता पनि निष्कर्षविहीन भएपछि राज्यका विभिन्न जिल्लाबाट हजारौँ विद्यार्थी राजधानी राँची पुगेका छन्। उनीहरूले सोमबार झारखण्ड विधानसभा घेराउ गर्ने तयारी गरेका छन्।
जयपाल सिंह मुन्डा स्टेडियमबाट विद्यार्थीले विशाल मार्च निकाल्ने तयारी गरेपछि राँचीको सुरक्षा व्यवस्था कडा पारिएको भारतीय समाचार एजेन्सी आईएएनएसले जनाएको छ।
राज्यका विभिन्न क्षेत्रबाट बस, रेल तथा निजी सवारीसाधनमार्फत हजारौँ परीक्षार्थी आइतबार बिहानैदेखि राँची पुगेका थिए। सयौँ विद्यार्थीले जयपाल सिंह मुन्डा स्टेडियम, अटल स्मृति भेन्डर मार्केट तथा आसपासका क्षेत्रमा खुला आकाशमुनि रात बिताएका थिए।
सोमबार बिहानैदेखि बिरसाचोक र आसपासका क्षेत्रमा झन्डा तथा विरोधका प्लेकार्ड बोकेका विद्यार्थीको ठूलो भीड जम्मा भएको थियो।
विवादित परीक्षा रद्द गरी सीबीआई छानबिनको माग
आन्दोलित विद्यार्थीले जेपीएससी र जेएसएससीका सबै विवादित परीक्षा रद्द गरी घटनाबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)बाट छानबिन गराउनुपर्ने माग राखेका छन्।
विधानसभा घेराउलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था थप कडा पारिएको छ। विधानसभा परिसरको ७५० मिटर वरपर भारतीय नागरिक सुरक्षा संहिताको दफा १६३ अन्तर्गत निषेधाज्ञा जारी गरिएको छ।
राजधानी राँचीको जयपाल सिंह स्टेडियमदेखि अल्बर्ट एक्का चोकसम्म विद्यार्थीले अनिश्चितकालीन धर्ना जारी राखेका छन्। उनीहरूको माग कुनै एउटा घटनाको छानबिन वा कुनै अधिकारीको राजीनामामा मात्र सीमित नभई सम्पूर्ण सरकारी नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने रहेको छ।
१४औँ जेपीएससी परीक्षापछि चर्कियो आन्दोलन
जेपीएससीले गत अप्रिल १९ मा सञ्चालन गरेको १४औँ प्रारम्भिक परीक्षा (पीटी)मा धाँधली तथा ओएमआर सिटमा गडबडी भएको आरोप सार्वजनिक भएपछि विद्यार्थी आन्दोलन थप चर्किएको हो।
प्रदर्शनमा सन् २०१५ देखि सरकारी सेवाका लागि आवेदन दिँदै आएका परीक्षार्थीसमेत सहभागी छन्। लामो समयदेखि परीक्षा प्रक्रिया अनिश्चित हुँदा आफूहरू अझै बेरोजगार रहनुपरेको उनीहरूको गुनासो छ।
मुख्यमन्त्री हेमन्त सोरेनले भने विद्यार्थीले उठाएका सबै आरोपको छानबिन गर्ने र दोषी भेटिए कडा कारबाही गर्ने बताउँदै आउनुभएको छ। सरकारले छानबिन तथा कारबाहीको आश्वासन दिए पनि विद्यार्थीको आन्दोलन र असन्तुष्टि भने रोकिएको छैन।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्