काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी प्रमुखका लागि ५५ वर्षको उमेरहद तोक्न प्रस्ताव गरेका छन्।
सोमबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथिको छलफलका क्रममा मन्त्री पुनले यस्तो प्रस्ताव गरेका हुन्।
नवप्रवर्तन र प्रविधिको क्षेत्रमा युवापुस्ता बढी दक्ष तथा ऊर्जावान हुने भएकाले कार्यकारी नेतृत्वमा युवालाई प्राथमिकता दिनुपर्ने उनको तर्क छ। नयाँ प्रविधिका विषयमा युवापुस्ता बढी जानकार हुने र कार्यकारी पदमा काम गर्न ऊर्जा तथा सक्रियता आवश्यक पर्ने भएकाले ५५ वर्षको उमेरहद प्रस्ताव गरिएको उनले बताए।
यद्यपि कानुनी जटिलताका कारण ६० वर्षको उमेरहद नै कायम गर्नुपर्ने अवस्था आए आफू लचिलो हुने मन्त्री पुनले स्पष्ट पारे।
त्यस्तै, मन्त्री पुनले कार्यकारी प्रमुखको अयोग्यतासम्बन्धी प्रावधानमा ‘जातीय भेदभाव तथा छुवाछुत’लाई समेत समावेश गर्न प्रस्ताव गरेका छन्। हालको विधेयकमा उक्त विषय समावेश नभएको भन्दै उनले छुवाछुतलाई गम्भीर अपराधका रूपमा लिएर अयोग्यताको सूचीमा राख्नुपर्नेमा जोड दिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्