काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन टोली लुम्बिनी लायन्सले एजुकेसन कन्सलटेन्सी पार्टनरका रूपमा द नेक्स्ट कन्सलटेन्सीसँगको सहकार्यलाई निरन्तरता दिएको छ।
एनपीएलको तेस्रो सिजनमा द नेक्स्ट कन्सलटेन्सीको लोगो लुम्बिनी लायन्सको जर्सीमा अंकित हुनेछ। लुम्बिनी लायन्स र द नेक्स्ट कन्सलटेन्सीबीच दोस्रो सिजनदेखि सहकार्य हुँदै आएको छ।
गत वर्ष लुम्बिनी लायन्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै एनपीएलको उपाधि जितेको थियो।
तेस्रो सिजनका लागि सोमबार लुम्बिनी लायन्स र द नेक्स्ट कन्सलटेन्सीबीच सम्झौता भएको हो। लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवाल र द नेक्स्ट कन्सलटेन्सीका प्रमुख कार्यकारी अधिकृत शालिकराम भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौतापछि कटवालले दुवै पक्षबीचको ‘विजयी साझेदारी’लाई निरन्तरता दिन सम्झौता गरिएको बताए।
उनले गत सिजनको सफल यात्राका क्रममा सहकार्य गरेका साझेदारमध्ये द नेक्स्ट कन्सलटेन्सीलाई पनि यस वर्ष निरन्तरता दिइएको बताए।
द नेक्स्ट कन्सलटेन्सीका प्रमुख कार्यकारी अधिकृत भण्डारीले यस सिजनमा पनि लुम्बिनी लायन्ससँग आबद्ध भएर खेलकुद क्षेत्रमा योगदान गर्न पाउँदा उत्साहित रहेको बताए।
लुम्बिनी लायन्सका मार्की खेलाडी तथा कप्तान रोहित पौडेल द नेक्स्ट कन्सलटेन्सीका ब्रान्ड एम्बासडरसमेत हुन्।
लुम्बिनीले तेस्रो सिजनका लागि रोहितसहित सन्दीप जोरा, शेर मल्ल, दिलीप नाथ, तिलकराज भण्डारी, दिनेश अधिकारी र अभिषेक गौतमलाई रिटेन गरेको छ। त्यस्तै, अक्सनमार्फत आसिफ शेख, किशोर महतो, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, अरनिको यादव र अजय चौहानलाई टोलीमा आबद्ध गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्