काठमाडौं । ब्याडमिन्टनको प्रतिष्ठित प्रतियोगितामध्ये एक १४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता आजदेखि ललितपुरको ग्वार्कोस्थित यल स्पोर्ट्स एकेडेमीमा सुरु हुँदै छ।
नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजना तथा यल स्पोर्ट्स एकेडेमीको सहआयोजनामा हुने प्रतियोगिताको मुख्य प्रायोजन ब्याडमिन्टन सामग्री उत्पादक कम्पनी लिनिङले गरेको छ।
साउन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न १५ विधामा प्रतिस्पर्धा हुनेछ। जसमा शीर्ष आठ वरीयताका महिला तथा पुरुष एकल, शीर्ष आठ वरीयताबाहेकका महिला तथा पुरुष एकल, महिला तथा पुरुष युगल, यू–११, यू–१५ र यू–१९ छात्र तथा छात्रा एकल, ३५ वर्षमाथिको खुला युगल तथा ४५ र ५५ वर्षमाथिको मास्टर्स खुला युगल समावेश छन्।
विदेशी खेलाडी पनि सहभागी
४५ र ५५ वर्षमाथिको मास्टर्स खुला युगलतर्फ विदेशी खेलाडीले समेत सहभागिता जनाउने भएका छन्। नेपाल ब्याडमिन्टन संघका महासचिव सुनीलमान शाक्यका अनुसार प्रतियोगितामा विदेशी खेलाडीलाई समेत आमन्त्रण गरिएको छ।
संघसँग आबद्ध ६० जिल्लाका साथै तीन विभागीय टोली—नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन्।
यस वर्ष खेलाडीको संख्या विगतको तुलनामा बढेकाले प्रतियोगिताको अवधि पनि बढाइएको महासचिव शाक्यले बताए। यसअघि ६ दिनमा सम्पन्न हुँदै आएको प्रतियोगिता यसपटक ७ दिनसम्म सञ्चालन हुनेछ।
विश्व ब्याडमिन्टन परिषद्का सदस्य, ब्याडमिन्टन एसिया विकास समितिका प्रमुख तथा पाकिस्तान ब्याडमिन्टन संघका अध्यक्ष वाजिद अली चौधरी पनि प्रतियोगितामा सहभागी हुने शाक्यले जानकारी दिए।
१० लाख ७८ हजार पुरस्कार
करिब ४१ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ७८ हजार रुपैयाँ रहेको छ।
लगातार तीन संस्करणमा उपाधि जित्ने खेलाडीलाई मोटरसाइकल वा स्कुटर प्रदान गरिनेछ। यसअघिको संस्करणमा प्रिन्स दाहालले लगातार तीन संस्करणको उपाधि जित्दै उक्त पुरस्कार प्राप्त गरेका थिए।
शीर्ष आठ वरीयताका महिला तथा पुरुष एकलतर्फको प्रतिस्पर्धा लिग कम नकआउट प्रणालीमा हुनेछ। खेलाडीलाई दुई समूहमा विभाजन गरिनेछ र प्रत्येक समूहका पहिलो तथा दोस्रो स्थान प्राप्त गर्ने खेलाडी सेमिफाइनलमा पुग्नेछन्।
लिगमा सहभागी प्रत्येक खेलाडीले १ हजार ५ सय रुपैयाँ पाउनेछन् भने प्रत्येक जितबापत थप १ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्।
शीर्ष आठ वरीयताका महिला तथा पुरुष एकलका विजेताले ५० हजार रुपैयाँ, उपविजेताले ३५ हजार तथा तृतीय हुने दुई खेलाडीले १५–१५ हजार रुपैयाँ पाउनेछन्।
शीर्ष आठबाहेकका महिला तथा पुरुष एकलका विजेताले ३० हजार, उपविजेताले १५ हजार तथा तृतीय हुने दुई खेलाडीले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्। महिला तथा पुरुष युगलतर्फ विजेता, उपविजेता र तृतीय हुने टोलीले क्रमशः ४० हजार, २० हजार र १० हजार रुपैयाँ पाउनेछन्।
यस्तै, यू–११ तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार रुपैयाँ, यू–१५ तर्फ २० हजार, १० हजार र ५ हजार रुपैयाँ तथा यू–१९ तर्फ ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
३५ वर्षमाथिको युगल तथा ४५ र ५५ वर्षमाथिको मास्टर्सतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ४० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्