काठमाडौं । वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला परिसरमा निर्माण गरिएको अत्याधुनिक पौडी पोखरीको निर्माण कार्य सम्पन्न भएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी निर्माण गरिएको पौडी पोखरी सञ्चालनमा आएपछि कर्णालीका पौडी खेलाडीलाई नियमित प्रशिक्षणका लागि सहज हुने भएको छ ।
पौडी खेलका लागि आवश्यक पूर्वाधारको अभाव झेल्दै आएको कर्णालीमा आधुनिक पौडी पोखरी निर्माण सम्पन्न हुनुलाई खेलकुद पूर्वाधार विकासको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । यसअघि पर्याप्त पूर्वाधार नहुँदा पौडी खेलाडीले नियमित प्रशिक्षणका लागि विभिन्न समस्या झेल्दै आएका थिए ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रविन्द्र चन्दले पौडी पोखरी निर्माण सम्पन्न भएपछि प्रदेशका खेलाडीलाई नियमित प्रशिक्षण गर्न सहज हुने बताउनुभयो । उहाँका अनुसार नयाँ पूर्वाधारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडीको तयारीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।
“पौडी पोखरी निर्माण भएपछि कर्णालीका खेलाडीलाई नियमित प्रशिक्षण गर्न सहज हुनेछ । यसले दशौँ राष्ट्रिय खेलकुदका लागि खेलाडीको तयारीलाई पनि थप राम्रो र व्यवस्थित बनाउन सहयोग पुग्नेछ,” सदस्य–सचिव चन्दले भन्नुभयो ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कर्णालीमा पछिल्लो समय खेलकुदका पूर्वाधार निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकता दिइएको छ । नयाँ पौडी पोखरीले प्रतियोगिताका लागि तयारी गरिरहेका खेलाडीलाई प्रशिक्षणको अवसर उपलब्ध गराउनुका साथै प्रदेशमा पौडी खेलको आधार फराकिलो बनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नियमित प्रशिक्षणको अवसर पाएसँगै नयाँ प्रतिभाको पहिचान, खेलाडीको क्षमता विकास र प्रतिस्पर्धात्मक स्तर सुधारमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।
कर्णालीमा पौडी खेलको पर्याप्त सम्भावना रहे पनि आवश्यक पूर्वाधारको अभावमा खेलाडीले नियमित प्रशिक्षणको अवसर पाउन सकेका थिएनन् । अब आफ्नै प्रदेशमा व्यवस्थित पौडी पोखरी उपलब्ध भएपछि प्रशिक्षणका लागि बाहिरी जिल्ला वा अन्य स्थानमा निर्भर हुनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्