काठमाडौं । ज्ञानोदय बालबालिकाको आयोजनामा ३२औँ ज्ञान कार्निभल सोमबारदेखि सुरु भएको छ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेका बेला प्रतियोगिताको उद्घाटन कार्यक्रम सामान्य रूपमा गरिएको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् ।
प्रतियोगिताको पहिलो दिन ब्वाइज बास्केटबलतर्फ रातो बंगला र एलआरआईले विजयी सुरुआत गरेका छन् । रातो बंगलाले जेम्सलाई २८–२३ अंकले पराजित गर्यो । रातो बंगलाको जितमा श्रेयान्स श्रेष्ठले ७ अंकको योगदान गरे ।
अर्को खेलमा सुजल मदईले २१ अंकको योगदान गरेपछि एलआरआईले एलिक्सरलाई ३३–२१ ले पराजित गर्यो ।
बुङमतीस्थित आयोजकको हलमा भइरहेको गर्ल्स बास्केटबलमा पनि एलआरआईले विजयी सुरुआत गरेको छ । एलआरआईले रातो बंगलालाई १६–११ अंकले हरायो ।
गर्ल्स फुटबलतर्फ एभीएम र रातो बंगला १–१ गोलको बराबरीमा रोकिए । एभीएमका लागि आरोसी शर्मा तथा रातो बंगला लागि सान्भी शर्माले गोल गरे ।
ब्वाइज र गर्ल्स बास्केटबलमा समान ८–८ टोली सहभागी छन् । यस्तै, ब्वाइज फुटबलमा ९ तथा गर्ल्स फुटबलमा ७ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । ज्ञान कार्निभलमा यस वर्ष पहिलोपटक गर्ल्स फुटबल समावेश गरिएको हो ।
सन् १९७५ मा स्थापना भएको ज्ञानोदयले सन् १९९४ देखि ज्ञान कार्निभल आयोजना गर्दै आएको छ । विद्यालयस्तरमा आयोजना हुने पुराना प्रतियोगितामध्ये ज्ञान कार्निभललाई एक मानिन्छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्