काठमाडौं । फुटबलका महान् खेलाडी लियोनल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सन्न्यास लिने घोषणा गरेका छन् ।
सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका कप्तान मेस्सीले सोमबार इन्स्टाग्राममार्फत राष्ट्रिय टोलीबाट बिदा हुने निर्णय सार्वजनिक गरेका हुन् ।
३९ वर्षीय मेस्सीले आफ्नो निर्णय निकै पीडादायी भएको बताएका छन् । उनले लेखेका छन्, ‘यो यस्तो निर्णय थियो, जसले मलाई निकै दुखायो र अझै पनि भित्रसम्म दुखिरहेको छ । तर अब समय आएको छ भन्ने मैले बुझेको छु ।’
मेस्सीले अर्जेन्टिनाको जर्सी लगाउँदा आफूले सधैँ शतप्रतिशत प्रयास गरेको बताएका छन् । पछिल्ला वर्षमा टोलीले उपाधि जितेको समयमा मात्र नभई त्यसअघिको कठिन समयमा पनि आफूले देशका लागि पूर्ण समर्पणका साथ खेलेको उनको भनाइ छ ।
‘यो जर्सीका लागि सधैँ लडेँ र मैदानमा सबै कुरा छोडेँ,’ उनले भनेका छन् ।
आफ्नो प्रदर्शनमार्फत अर्जेन्टिनी समर्थकलाई खुसी बनाउने र देशप्रति गर्व गर्ने अवसर दिलाउन आफूले निरन्तर प्रयास गरेको पनि मेस्सीले बताएका छन् ।
मेस्सीले अर्जेन्टिनाबाट करिब दुई दशक लामो अन्तर्राष्ट्रिय करियर पूरा गरेका छन् । उनको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२१ र २०२४ कोपा अमेरिका तथा सन् २०२२ को विश्वकपको उपाधि जितेको थियो ।
यससँगै अर्जेन्टिनाको राष्ट्रिय टोलीमा मेस्सीको लामो अन्तर्राष्ट्रिय यात्राको अन्त्य भएको छ । राष्ट्रिय टोलीका लागि उनले हासिल गरेका उपाधि र कीर्तिमानका कारण उनको युगलाई अर्जेन्टिनी फुटबल इतिहासकै स्वर्णिम अध्यायका रूपमा लिइन्छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्