काठमाडौँ । नेपालका विविध भाषा, संस्कृति, परम्परा र मौलिक विविधताले मुलुकको सम्पन्नताको आधारलाई थप बलियो बनाउने सरोकारवालाले बताएका छन्।
आदिवासी जनजाति पत्रकार महासङ्घले सोमबार काठमाडौँमा आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ मा सहभागी वक्ताहरूले भाषा, संस्कृति र परम्पराको संरक्षणसँगै त्यसलाई उत्पादन र विकाससँग जोड्नुपर्नेमा जोड दिए।
नेकपा (एमाले) का प्रतिनिधिसभा सांसद क्षितिज थेबेले आदिवासी समुदायको सीप र कलालाई उत्पादनमुखी बनाउनुपर्ने बताए। राजनीतिक दलहरू जनजातिविरोधी रहेको गलत भाष्य निर्माण भएको भन्दै उनले आदिवासी जनजातिका लागि कुन दलले कति काम गरेका छन् भन्ने विषयमा मूल्याङ्कन गर्नुपर्ने धारणा राखे।
नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद निश्कल राईले संस्कार, संस्कृति र विविधताले नेपालको सम्पन्नताको आधार कायम राख्न सहयोग गर्ने बताए। विभिन्न समुदायका भाषा संस्कार, संस्कृति र आत्मीयतासँग जोडिएको उल्लेख गर्दै उनले यस्ता विषयलाई कमजोरीका रूपमा लिन नहुने बताए।
सांसद सुरेन्द्र सिंह थारुले कुनै पनि आदिवासी जनजाति समुदायको संस्कृति र सभ्यता निर्माण हुन हजारौँ वर्ष लाग्ने भएकाले यसको संरक्षण आवश्यक रहेको बताए।
आदिवासी जनजाति महासङ्घका अध्यक्ष निमा ह्योल्मो लामाले भाषा सञ्चारको माध्यम मात्र नभई इतिहास र ज्ञानको भण्डारसमेत भएको बताए। मातृभाषी पत्रकारले बजार अभावलगायत समस्या भोगिरहेको उल्लेख गर्दै यसको समाधानका लागि सबै पक्षले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताए।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष राम मादेनले मूलधारका सञ्चारमाध्यममा आदिवासी जनजातिका सवाल तथा समाचारले पर्याप्त प्राथमिकता नपाउने गरेको बताए।
आदिवासी जनजाति पत्रकार महासङ्घका पूर्वअध्यक्ष डण्ड गुरुङले कुरा गर्नुभन्दा काम गर्ने जिम्मेवारी धेरै रहेको बताए। राज्य र पत्रकारिता क्षेत्रले मातृभाषी पत्रकारलाई हेयको दृष्टिले हेर्ने गरेको गुनासो गर्दै उनले श्रमजीवी पत्रकार तथा स्वरोजगार मिडिया विस्थापित हुँदै गएको बताए।
नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नितु पण्डितले मातृभाषा पत्रकारितालाई सशक्त बनाउनुपर्ने बताइन्। समाजको स्वरूपअनुसार पत्रकारिता विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले पत्रकार महासङ्घमा पनि समावेशी संरचना निर्माण गरिएको जानकारी दिइन्।
आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष लक्की चौधरीले मातृभाषी पत्रकारका समस्या तथा क्षमता अभिवृद्धिका विषय सधैँ ओझेलमा पर्ने गरेको बताए। मातृभाषी पत्रकारका सवाललाई नीतिगत रूपमा सम्बोधन गर्न विषयगत तथा वैचारिक बहस आवश्यक रहेको उनले बताए।
कार्यक्रममा फोनिज स्मारिकासमेत विमोचन गरिएको थियो। कार्यक्रममा आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष अमृत सुनुवार, नेवा पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, सार्क जर्नलिष्ट फोरमका महासचिव एमडी अब्दुल रहिमान, काठमाडौँ विश्वविद्यालयका आमसञ्चार विभाग प्रमुख डा. निर्मलमणि अधिकारी, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. कुन्दन अर्याललगायतले शुभकामना व्यक्त गरेका थिए।
सम्मेलनमा सार्क क्षेत्रका विभिन्न देशबाट मातृभाषी पत्रकारहरूको सहभागिता रहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्