काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमा प्रधानमन्त्री वालेन्द्र शाहभन्दा बढी राजनीतिक परिपक्वता देखिएको टिप्पणी गरेका छन्।
सोमबार सिंहदरबारमा पत्रकारहरूसँगको भेटमा प्रचण्डले तुलनात्मक रूपमा रविमा ‘पोलिटिकल म्याचुरिटी’ देखिएको बताए।
‘कम्पेरिटिभली पोलिटिकल म्याचुरिटी रविमै रहेछ भन्ने त सबैले महसुस गरेकै कुरा छ,’ उनले भने।
लामिछानेसहित आफू प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्मा रहेका केही नेतासँग निरन्तर संवाद हुने गरेको प्रचण्डले बताए। उनले सभामुख डोलप्रसाद अर्याल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलगायतसँग पनि नियमित संवाद हुने गरेको उल्लेख गरे।
‘मेरो क्याबिनेटमा बसेका साथीहरू हुनुको नाताले मलाई उहाँहरूलाई बुझ्न पनि गाह्रो छैन। उहाँहरूलाई भन्न पनि गाह्रो छैन। त्यसकारण संवाद मेरो चाहिँ रेगुलरै भइराखेको छ,’ उनले भने।
प्रचण्डले रवि लामिछानेले आफूप्रति गुन तिर्न बाँकी रहेको समेत बताए। आफूले लामिछानेका पक्षमा संसद् र संसद् बाहिर बोलेको तथा जेलमै पुगेर भेटेको उनले स्मरण गरे।
‘रविजीले मेरो गुन तिर्न बाँकी छ। उनको लागि त मैले धेरै डिफेन्स गरेको छु नि त सदनमा, सदनबाहिर। जेलमा गएर भेटेको छु,’ उनले भने।
आफ्नो परिवारका सदस्यहरूमाथि छानबिन गर्न लागिएको भन्ने विषयलाई प्रचण्डले ‘मिडिया ट्रायल’को संज्ञा दिए।
सरकार धेरै नटिक्ने प्रचण्डको दाबी
प्रचण्डले वर्तमान सरकार अपरिपक्व र विचारविहीन रहेको दाबी गर्दै लामो समय नटिक्ने बताए।
‘सरकार अपरिपक्व छ। विचारविहीन छ। समुद्रमा कम्पास हराएको जहाजजस्तो भएकाले यो धेरै जाँदैन,’ उनले भने।
रास्वपाभित्र पनि अन्तरविरोध देखिन थालेको दाबी गर्दै प्रचण्डले केही नेताले सरकार दशैँसम्म पनि नटिक्ने बताउन थालेको आफूले सुनेको उल्लेख गरे।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्