ढल्केबर । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र विमलको ७९ वर्षको उमेरमा निधन भएको छ। उहाँको मंगलबार बिहान १२ः४५ बजे जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको हो।
लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित डा. विमलको निधनले मैथिली साहित्य, भाषा आन्दोलन तथा मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकारहरूले बताएका छन्।
उहाँको पार्थिव शरीर जनकपुरधाम–४ देवीचोकस्थित निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। साहित्यकार, शिक्षाविद्, विद्यार्थी तथा शुभेच्छुकहरू उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न निवासमा पुगिरहेका छन्।
चार दशक प्राध्यापनमा बिताए
भाषाविज्ञानमा विद्यावारिधि गर्नुभएका डा. विमलले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर गर्नुभएको थियो। उहाँ नेपाली, मैथिली र अङ्ग्रेजी भाषामा साहित्य सिर्जनाका साथै शिक्षण तथा भाषा अनुसन्धानमा सक्रिय रहनुभयो।
विसं २०२९ देखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापनमा आबद्ध उहाँले जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको नेपाली विभागमा पनि लामो समय अध्यापन गर्नुभयो। करिब चार दशकको प्राध्यापन यात्रापछि उहाँ अवकाश प्राप्त हुनुभएको थियो।
उहाँले साहित्यलाई सिर्जनामा मात्र सीमित नराखी भाषा, समाज र संस्कृतिको अध्ययनसँग जोडेर अघि बढाउनुभएको थियो।
‘विपतिया’बाट सुरु भएको साहित्यिक यात्रा
डा. विमलको पहिलो कथा ‘विपतिया’ १५ मार्च १९६३ मा ‘मिथिला मिहिर’ पत्रिकामा प्रकाशित भएको थियो। त्यसपछि उहाँ कथा, कविता, गीत, गजल, नाटक, उपन्यास, समालोचना, बालसाहित्य, अनुवाद तथा भाषाविज्ञानका क्षेत्रमा निरन्तर सक्रिय रहनुभयो।
उहाँका ‘ई हमरे कथा थिक’, ‘इतिहासक घाओ’, ‘डा. विमलका कथाहरू’, ‘सरबरिआ गाउँको कथा’ र ‘फिस्टी रानी’लगायत कृति प्रकाशित छन्। उहाँका रचना ‘गोरखापत्र’, ‘मधुपर्क’, ‘गरिमा’ लगायतका पत्रपत्रिकामा समेत प्रकाशित हुँदै आएका थिए।
टेलिफिल्ममा पनि योगदान
उहाँको कथामा आधारित ‘हंसा चलल परदेश’ नामक मैथिली टेलिफिल्म नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो। यसले मैथिली साहित्यलाई दृश्य–श्रव्य माध्यममार्फत व्यापक दर्शकमाझ पुर्याउन योगदान गरेको साहित्यकार तथा पत्रकार नित्यानन्द मण्डलले बताउनुभयो।
साहित्य तथा भाषा क्षेत्रमा पुर्याएको योगदानका लागि डा. विमल विभिन्न पुरस्कार तथा सम्मानबाट विभूषित हुनुभएको थियो। उहाँ ‘नेपाल विद्यापति भाषा, साहित्य पुरस्कार’का पहिलो प्राप्तकर्ता हुनुहुन्थ्यो। उहाँले गरिमा सम्मान, जगदम्बा सम्मान, राष्ट्रिय प्रतिभा पुरस्कार, सिद्धि श्री पुरस्कारलगायत सम्मान प्राप्त गर्नुभएको थियो।
मैथिल अस्मिता र लोकजीवन लेखनको केन्द्रमा
साहित्यकार मण्डलका अनुसार डा. विमलको लेखनमा राष्ट्रप्रेम, मैथिल अस्मिता, मातृभाषाप्रतिको निष्ठा, लोकजीवनको पीडा, प्रेम, वियोग, आक्रोश र विद्रोह सशक्त रूपमा अभिव्यक्त भएको पाइन्छ।
उहाँले मिथिला र मिथिलावासीको सामाजिक यथार्थलाई मौलिक शैलीमा प्रस्तुत गर्नुभएको थियो। सन् १९४७ जुलाई २६ मा धनुषाको देवडिहा गाउँस्थित खिरखिरियामा जन्मिनुभएका डा. विमलले नेपाली, मैथिली र हिन्दीमा स्नातकोत्तर तथा भाषाविज्ञानमा विद्यावारिधि गर्नुभएको थियो।
आजै अन्त्येष्टि
साहित्यकार डा. विजय दत्तका अनुसार डा. विमलको पार्थिव शरीरको आज दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिनेछ।
मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. विमलको निधनप्रति साहित्यकार, पत्रकार तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्