लमजुङ । राइनास नगरपालिका–६ फूलबारीमा ७५ वर्षीया काली सार्की आफ्नै घरभित्र मृत अवस्थामा भेटिनुभएको छ। शनिबार राति घरको खाटमुनि उहाँको शव फेला परेको हो। प्रहरीले घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएकाले हत्या आशङ्कामा अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार घटना शनिबार दिउँसो १२ देखि १ बजेको बीचमा भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। घरमा कोठा भाडामा बस्दै आएका देवराज मगर कामको खोजीमा बाहिर गएका बेला घटना भएको र साँझ फर्किएपछि शव देखेर प्रहरीलाई खबर गरेका थिए।
घटनाबारे ११ जनासँग सोधपुछ गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीसमेत परिचालन गरिएको छ। सार्की लामो समयदेखि घरमा एक्लै बस्दै आउनुभएको थियो। प्रहरीले घटनासँग सम्बन्धित सबै कोणबाट अनुसन्धान भइरहेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्