काठमाडौँ । सञ्चारमाध्यमले अपाङ्गता भएका व्यक्ति तथा आदिवासी जनजातिका सवाललाई संवेदनशील र प्राथमिकताका साथ उठाउनुपर्ने सरोकारवालाले बताएका छन्।
आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता दिवस–२०२६ का अवसरमा मङ्गलबार आयोजना गरेको ‘आमसञ्चारमा अपाङ्गता र आदिवासीको सवालः समावेशी सञ्चारका लागि सञ्चारकर्मीको भूमिका’ विषयक कार्यक्रममा सहभागीले यस्तो धारणा राखेका हुन्।
फोनिजका अध्यक्ष लक्की चौधरीले समाजमा रहेको सोच र प्रवृत्ति सञ्चारमाध्यममा समेत प्रतिबिम्बित हुने भएकाले अपाङ्गता तथा आदिवासी जनजातिका सवाललाई समावेशी ढङ्गले प्रस्तुत गर्नुपर्ने बताउनुभयो।
उहाँले मातृभाषाका माध्यमबाट आम नागरिकसम्म सूचना प्रवाह हुने भएकाले मातृभाषाको पत्रकारितामार्फत पनि सीमान्तकृत समुदायका सवाललाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
अपाङ्गता भएका आदिवासी महिलालाई दोहोरो चुनौती
वर्किङ वुमन जर्नलिस्ट (डब्लुडब्लुजे) का अध्यक्ष रामकला खड्काले एक अध्ययनअनुसार ८० प्रतिशत आदिवासी अपाङ्गता भएका महिलालाई सरकारले उपलब्ध गराउने सेवा तथा सुविधा प्राप्त गर्न चुनौती रहेको बताउनुभयो।
उहाँले आदिवासी अपाङ्गता भएका महिला दोहोरो–तेहोरो विभेदमा पर्दै आए पनि उनीहरूका सवाल सञ्चारमाध्यममा न्यून रूपमा आउने गरेको उल्लेख गर्नुभयो।
अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका व्यक्तिलाई दया वा करुणाको पात्रका रूपमा नभई सामाजिक परिवर्तनका संवाहकका रूपमा प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ थियो।
संवेदनशील शब्द चयनमा जोड
आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ (निडवान) का अध्यक्ष प्रतिमा गुरुङले मूलधारका सञ्चारमाध्यमले आदिवासी तथा अपाङ्गताका सवाललाई पर्याप्त प्राथमिकता दिन नसकेको बताउनुभयो।
अपाङ्गतासम्बन्धी समाचार तथा सामग्री सम्प्रेषण गर्दा सञ्चारकर्मीले शब्द चयनदेखि व्यक्तिको भावना, मर्यादा र गोपनीयतासम्मलाई ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।
“शब्द मानसिकता, भावना, मान–मर्यादा, गोपनीयता र संवेदनशीलतासँग जोडिएको हुन्छ । मिडियालाई चौथो अङ्ग भनिरहँदा यस विषयमा संवेदनशील बन्न जरुरी छ,” गुरुङले भन्नुभयो।
कार्यक्रममा कृष्ण गहतराजले सहजीकरण गर्नुभएको थियो।
मातृभाषामा सामुदायिक रेडियोको योगदान
सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराव) का अध्यक्ष अर्जुन गिरीले मातृभाषामा सूचना तथा समाचार सम्प्रेषणका लागि सामुदायिक रेडियोले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।
उहाँले मातृभाषाको पत्रकारितालाई थप प्रभावकारी बनाउन समुदायका विविध वर्ग र समूहका सवाललाई सञ्चारको मूल प्रवाहमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्