काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले देवानगञ्ज घटनाको निष्पक्ष छानबिनको माग गर्दै १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्यप्रति संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ।
आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै अनशनका कारण यादवको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको भन्दै उनको जीवन रक्षाका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेको हो।
आयोगको टोलीले माइतीघरमा पुगेर अनशनरत यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो। अनुगमनका क्रममा उनको रक्तचाप र रक्तचिनीको मात्रा घट्दै गएको तथा स्वास्थ्य अवस्था जटिल बन्दै गएको पाइएको आयोगले जनाएको छ।
आयोगका अनुसार १२ दिनसम्म अनशन जारी रहँदा पनि सरकारका तर्फबाट उपचार तथा वार्ताका लागि प्रभावकारी पहल नभएको पाइएको छ। त्यसैले यादवको तत्काल स्वास्थ्य उपचारको व्यवस्था गरी जीवन रक्षा गर्न र वार्तामार्फत समस्या समाधान गर्न आयोगले सरकारलाई आग्रह गरेको छ।
सातबुँदे सहमति कार्यान्वयनको माग
यसअघि साउन १५ गते गृहमन्त्री सुधन गुरुङ र देवानगञ्ज घटनाका पीडित परिवारबीच सातबुँदे सहमति भएको थियो।
सहमतिमा घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने उल्लेख छ। साथै, दुवै मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने सहमति भएको थियो।
त्यस्तै, घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम तत्काल कानुनी कारबाही अघि बढाउने प्रतिबद्धता सरकारको तर्फबाट व्यक्त गरिएको थियो।
सहमति अनुसार मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिस यथाशीघ्र कार्यान्वयन गर्ने भनिएको छ।
मृतकहरूको स्मृतिमा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने विषय पनि सातबुँदे सहमतिमा समेटिएको छ।
गृहमन्त्रीसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले यादव अनशनमा बसेका हुन्। स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई तत्काल हस्तक्षेप गरी उपचार र संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरेको हो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्