काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठक विपक्षी सांसदहरूले सुरुमै अवरुद्ध गरेका छन्। नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले हालै दिएको अभिव्यक्तिप्रति असहमति जनाउँदै विपक्षी सांसदहरूले बैठक अवरुद्ध गरेका हुन्।
प्रमुख प्रतिपक्षी दलका सांसद भरतबहादुर स्वारले बैठकको सुरुमै बोल्दै प्रधानमन्त्री शाहले संसद्मा उपस्थित भएर आफ्नो भनाइ स्पष्ट पार्नुपर्ने तथा आवश्यक परे सच्याउनुपर्ने माग गरे।
बारम्बार संसद् अवरुद्ध गर्नुपर्दा आफूहरूलाई समेत असहज भएको उल्लेख गर्दै उनले भने, “प्रत्येक दिन ढ्यापढ्याप पार्दै उभिँदा हामीलाई पनि अप्ठ्यारो लागेको छ।”
सांसद स्वारले नेपाल–भारत सीमाका लिपुलेक, लिम्पियाधुरा र सुस्ता क्षेत्रमा भारतीय पक्षबाट सीमा अतिक्रमण भएको आरोप लगाए। प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने भन्दै उनले सीमा सम्बन्धमा प्रधानमन्त्रीले संसद्लाई स्पष्ट जवाफ दिनुपर्ने बताए।
“हामीले भारतको भूमि मिचेको भन्ने कुरा प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्दैन?” उनले प्रश्न गरे।
निर्वाचित संसद्प्रति प्रधानमन्त्री उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै स्वारले सीमा विवादजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको धारणा स्पष्ट हुनुपर्नेमा जोड दिए।
विपक्षी सांसदहरूको विरोधपछि सभामुखले बैठक केही समयका लागि स्थगित गरेको बताइएको छ। प्रधानमन्त्री शाहले सो विषयमा संसद्मा तत्काल जवाफ दिने वा नदिनेबारे भने स्पष्ट जानकारी सार्वजनिक भएको छैन। विपक्षी दलहरूले भने प्रधानमन्त्रीको जवाफ नआएसम्म आफ्नो विरोध जारी राख्ने संकेत गरेका छन्।
नेपाल र भारतबीच लिपुलेक, लिम्पियाधुरा तथा सुस्तालगायत क्षेत्रमा लामो समयदेखि सीमा विवाद रहँदै आएको छ। यी विषयमा यसअघि पनि संसद्मा पटकपटक बहस हुँदै आएको छ। विपक्षी दलहरूले सरकारलाई सीमा सम्बन्धमा स्पष्ट र दृढ धारणा सार्वजनिक गर्न दबाब दिँदै आएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्