बुटवल । खाना पकाउने ग्यासको आपूर्ति सहज नहुँदा बुटवलमा उपभोक्ता ग्यास सिलिन्डर लिन लामबद्ध भएका छन्। बजारमा ग्यास अभाव देखिएपछि नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारीले बुटवलका विभिन्न स्थानमा ग्यास बिक्री–वितरणको व्यवस्था मिलाएको हो।
निगमका अनुसार मंगलबार बिहान ९ बजेदेखि तोकिएका ग्यास उद्योगका सिलिन्डर बिक्री–वितरण सुरु गरिएको छ। ग्यास लिन बिहानैदेखि उपभोक्ता सिलिन्डर बोकेर लाइनमा बसेका छन्। कतिपय स्थानमा उपभोक्ताको भीड बढेपछि लामो लाइन लागेको छ।
यसअघि बजारमा ग्यास नपाएको, रातो कार्ड हुँदासमेत सिलिन्डर नपाएको तथा नयाँ चुल्हो नबलेको भन्दै उपभोक्ताले गुनासो गरेका थिए। सोही गुनासोलाई सम्बोधन गर्दै निगमले प्राथमिकताका आधारमा ग्यास वितरणको व्यवस्था गरेको जनाएको छ।
यी ग्यास उद्योगका सिलिन्डर वितरण
निगमले बुटवल ग्यास, आरती ग्यास, सिद्धार्थ ग्यास, सिद्धिनाथ ग्यास, त्रिशूल ग्यास, जानकी ग्यास, स्वस्तिक ग्यास, चण्डेश्वरी ग्यास र लुम्बिनी ग्यासका सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ।
बजारमा ग्यासको आपूर्ति सहज बनाउन वितरण प्रणालीलाई व्यवस्थित गर्ने प्रयास भइरहेको निगमले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्