काठमाडौँ । नेकपा (एमाले) का सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री वालेन्द्र शाहका विवादास्पद अभिव्यक्ति संसद्को आधिकारिक अभिलेखबाट हटाउन सभामुखसँग माग गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद मण्डलले प्रधानमन्त्रीका अभिव्यक्तिले संसद्को गरिमा प्रभावित हुन सक्ने भन्दै सभामुखको ध्यानाकर्षण गराएका हुन्।
मण्डलले सभामुखलाई संसद्को अभिभावकका रूपमा प्रधानमन्त्रीसँग संवाद गरी विवादित अभिव्यक्ति फिर्ता लिन पहल गर्न आग्रह गरे। प्रधानमन्त्री आफैँ रोष्ट्रममा आएर आफ्ना भनाइ फिर्ता लिने सम्भावना कम रहेको उनको टिप्पणी थियो।
‘प्रधानमन्त्रीज्यू जिद्दी स्वभावको हुनुहुन्छ, उहाँ आफैं रोष्ट्रममा आएर आफ्ना अभिव्यक्ति फिर्ता लिनुहुन्छ भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘तसर्थ, सभामुखज्यूले नै प्रधानमन्त्रीसँग वार्ता गरी ती भनाइहरू फिर्ता लिन लगाउन वा संसदको अभिलेखबाट हटाउन पहल गरिदिनुहुन म विनम्र अनुरोध गर्दछु।’
सांसद मण्डलले सभामुखको अनुभव र शालीनताको प्रशंसा गर्दै संसदको गरिमा कायम राख्न विवादास्पद अभिव्यक्तिबारे आवश्यक पहल गर्न आग्रह गरे।
उनले प्रधानमन्त्री शाहका विवादित वक्तव्य संसद्को आधिकारिक अभिलेखमा रहिरहनु उपयुक्त नहुने भन्दै ती भनाइ हटाउन सभामुखले पहल गर्नुपर्नेमा जोड दिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्