सोलुखुम्बु । रेड पाण्डा (हाब्रे) संरक्षण, समुदायको सहभागिता र साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सोलुखुम्बुको सल्लेरीमा तेस्रो संस्करणको रेड पाण्डा म्याराथन आयोजना हुने भएको छ।
रेड पाण्डा नेटवर्कको आयोजना, प्ले फर नेचरको सहयोग तथा हिमाली स्वास्थ्य तथा वातावरणीय सेवाको सहकार्यमा आगामी भदौ २० गते म्याराथन आयोजना गर्न लागिएको हो।
तल्लो सगरमाथा क्षेत्रको प्रवेशद्वारका रूपमा रहेको सल्लेरीमा आयोजना हुने म्याराथनमार्फत खेलकुदका माध्यमबाट रेड पाण्डा संरक्षणको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने आयोजकको लक्ष्य छ। साथै, सोलुखुम्बुलाई साहसिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसमेत राखिएको छ।
यस वर्षको मुख्य दौड सल्लेरीस्थित थेकछेन पेमा छोलिङ गुम्बाबाट सुरु भएर समुद्री सतहबाट ४ हजार ५४ मिटर उचाइमा रहेको पिके डाँडासम्म पुगेर पुनः सोही स्थानमा फर्किनेछ।
आयोजकका अनुसार ४८ किलोमिटर लामो उक्त ट्रेल अन्तर्राष्ट्रिय ट्रेल रनिङ संघमा दर्ता भएको छ। दौडमा करिब २ हजार ८७२ मिटरको उचाइ वृद्धि हुने भएकाले अनुभवी ट्रेल धावक तथा साहसिक खेलाडीका लागि यो चुनौतीपूर्ण हुने अपेक्षा गरिएको छ।
दौड सात घण्टा ३० मिनेटभित्र पूरा गर्ने धावकले तीन आईटिआरए अंक प्राप्त गर्नेछन्।
दौडका क्रममा सहभागीले तल्लो सगरमाथा क्षेत्रको हिमाली भू–दृश्यसँगै रेड पाण्डाको बासस्थान र स्थानीय समुदायसँग जोडिएको प्राकृतिक वातावरणको अनुभव गर्नेछन्।
पहिलोपटक पाँच किलोमिटर ‘रेड पाण्डा रन’
म्याराथनको तेस्रो संस्करणमा पहिलोपटक स्थानीय समुदाय तथा सर्वसाधारणलाई लक्षित गरी पाँच किलोमिटरको ‘रेड पाण्डा रन’ समेत आयोजना गरिने भएको छ।
गुम्बाबाट सुरु हुने दौड सेर्गा खोप, पोङ्बा डाँडा, फाप्लु र ठूलो घर हुँदै पुनः थेकछेन पेमा छोलिङ गुम्बामा पुगेर टुंगिनेछ।
४८ किलोमिटरको मुख्य दौड अनुभवी धावकका लागि लक्षित भए पनि पाँच किलोमिटरको दौड भने सबै उमेर र क्षमताका व्यक्तिका लागि खुला रहने आयोजकले जनाएको छ।
स्थानीय समुदायको सहभागितालाई यसपटक विशेष प्राथमिकता दिइएको छ।
‘संरक्षण अभियानमा सबैलाई जोड्न सहयोग पुग्छ’
प्ले फर नेचरकी संरक्षण व्यवस्थापक फ्लेउर भिसरले पाँच किलोमिटरको दौड थपिएपछि विभिन्न उमेर र क्षमताका मानिसलाई रेड पाण्डा संरक्षण अभियानमा जोड्ने अवसर बढेको बताइन्।
उनका अनुसार खेलकुदलाई संरक्षण अभियानसँग जोड्दा समुदायको सहभागिता बढाउन सकिने भएकाले म्याराथनले रेड पाण्डा र यसको बासस्थान संरक्षणको सन्देश व्यापक बनाउन सहयोग गर्नेछ।
रेड पाण्डा नेटवर्कका कार्यकारी निर्देशक आङफुरी शेर्पाले म्याराथनले स्वस्थ जीवनशैली प्रवर्द्धनसँगै सोलुखुम्बुमा रेड पाण्डा संरक्षणको महत्त्वबारे जनचेतना बढाउने बताए।
संरक्षणसँगै पर्यटन प्रवर्द्धन
रेड पाण्डा म्याराथन नेपालमा रेड पाण्डा पाइने तथा रेड पाण्डा नेटवर्कले संरक्षण कार्यक्रम सञ्चालन गरेका विभिन्न क्षेत्रमा आयोजना हुँदै आएको छ।
यसको पहिलो संस्करण सन् २०२४ मा ताप्लेजुङ र दोस्रो संस्करण सन् २०२५ मा इलाममा आयोजना भएको थियो। पहिलो दुई संस्करणमा १४० जना धावक सहभागी भएका थिए। नेपालका १६ भन्दा बढी जिल्लाका साथै भारत र दक्षिण कोरियाबाट समेत धावक सहभागी भएको आयोजकले जनाएको छ।
म्याराथनले रेड पाण्डा संरक्षणको सन्देश फैलाउनुका साथै संरक्षण क्षेत्रलाई साहसिक पर्यटनसँग जोड्ने माध्यमका रूपमा समेत काम गर्दै आएको आयोजकको भनाइ छ।
सोलुखुम्बु रेड पाण्डासहित विभिन्न वन्यजन्तु तथा जैविक विविधताले समृद्ध भए पनि यहाँका प्राकृतिक सम्पदाबारे पर्याप्त जानकारी हुन नसकेको हिमाली स्वास्थ्य तथा वातावरणीय सेवाका अध्यक्ष ङिमातेण्डुप शेर्पाले बताए।
उनका अनुसार यस्ता कार्यक्रमले स्थानीय समुदायलाई आफ्नै प्राकृतिक सम्पदाको महत्त्व बुझाउन र संरक्षणलाई भावी पुस्ताको साझा जिम्मेवारीका रूपमा स्थापित गर्न सहयोग पुर्याउँछ।
गत वर्ष इलाममा आयोजित म्याराथनले स्थानीय समुदाय तथा धावकमा संरक्षणप्रतिको चासो बढाएको आयोजकको दाबी छ। सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले यस्ता कार्यक्रमले पर्यटक आकर्षित गर्नुका साथै रेड पाण्डा संरक्षणबारे जनचेतना बढाउन र समुदायलाई संरक्षण अभियानमा एकजुट गर्न सहयोग गर्ने बताए।
प्रकृति, साहसिक यात्रा र संरक्षणलाई जोड्ने प्रयास
आयोजकका अनुसार रेड पाण्डा म्याराथनको उद्देश्य केवल धावकलाई गन्तव्यसम्म पुर्याउनु मात्र होइन। दौडको मार्गमा पर्ने प्राकृतिक भू–दृश्य, स्थानीय समुदाय र रेड पाण्डाको बासस्थानलाई एउटै संरक्षण अभियानसँग जोड्नु यसको मुख्य उद्देश्य हो।
रेड पाण्डा नेटवर्कले स्थानीय समुदायलाई शिक्षा र सशक्तीकरणमार्फत रेड पाण्डा तथा यसको बासस्थान संरक्षणमा काम गर्दै आएको छ। संस्थाले नेपालका विभिन्न हिमाली क्षेत्रमा समुदायमा आधारित संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
आयोजकले प्रकृति, साहसिक यात्रा र वन्यजन्तु संरक्षणमा रुचि भएका अनुभवी धावकलाई ४८ किलोमिटरको म्याराथनमा सहभागी हुन आह्वान गरेको छ।
स्थानीय तथा सर्वसाधारणका लागि पाँच किलोमिटरको ‘रेड पाण्डा रन’ खुला गरिएको छ। म्याराथनमा सहभागी हुन इच्छुकले रेड पाण्डा नेटवर्कमार्फत दर्ता गर्न सक्नेछन्। दर्ता तथा थप जानकारीका लागि रेड पाण्डा नेटवर्कको कार्यालयमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्