काठमाडौं । चीनको बढ्दो प्रभाव र आक्रामक रणनीति रोक्न अमेरिकाले एसियाली सहयोगी राष्ट्रहरूलाई आफ्नो रक्षा क्षेत्रमा थप लगानी गर्न आग्रह गरेको छ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका वरिष्ठ अधिकारीले अमेरिकाले एसियाली राष्ट्रहरूसँग संरक्षकका रूपमा नभई समान साझेदारका रूपमा सहकार्य गर्न चाहेको बताएका छन्।
दक्षिण–पूर्वी एसियाको भ्रमणमा रहेका अमेरिकी रक्षा मन्त्रालयका उपसचिव एल्ब्रिज कोल्बीले फिलिपिन्समा आयोजित कार्यक्रममा यस्तो धारणा राखेका हुन्। भ्रमणको पहिलो गन्तव्य फिलिपिन्स पुगेका कोल्बीले त्यसपछि इन्डोनेसिया, थाइल्यान्ड र कम्बोडियाको भ्रमण गर्ने कार्यक्रम छ।
एसियाबाट पछि नहट्ने अमेरिकी दाबी
कोल्बीको भनाइसँगै अमेरिकाले युरोपमा जस्तै एसियामा पनि आफ्नो सैन्य उपस्थिति घटाउन खोजेको हो कि भन्ने अड्कलबाजी सुरु भएको छ। तर, कोल्बीले अमेरिकाले एसियाबाट आफ्नो उपस्थिति नघटाउने स्पष्ट पारेका छन्।
उनले अमेरिका एसियाबाट पछि हट्नुको सट्टा आफ्नो सुरक्षा स्थितिलाई थप मजबुत बनाउने बताएका छन्। उनका अनुसार अमेरिकाका महत्वपूर्ण राष्ट्रिय हितले एसियामा उसको स्थायी उपस्थितिको माग गर्छन्।
इरान युद्ध र मध्यपूर्वमा अमेरिकी व्यस्तताका बाबजुद एसिया अमेरिकाका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र रहेको उनको भनाइ छ।
दक्षिण चीन सागरमा बढ्दो तनाव
चीनको बढ्दो प्रभावबीच अमेरिकी अधिकारीको यस्तो धारणा आएको हो। दक्षिण चीन सागरमा चीनको गतिविधिलाई लिएर अमेरिका र उसका सहयोगी राष्ट्रहरूले लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएका छन्।
चीन र फिलिपिन्ससँगै भियतनाम, मलेसिया, ब्रुनाई र ताइवानबीच पनि दक्षिण चीन सागरको विवादित जलक्षेत्रलाई लिएर लामो समयदेखि विवाद छ।
विश्व व्यापारका लागि महत्वपूर्ण समुद्री मार्गका रूपमा रहेको दक्षिण चीन सागरको अधिकांश भागमा चीनले आफ्नो दाबी गर्दै आएको छ। सन् २०१६ मा फिलिपिन्सले अघि बढाएको मध्यस्थता प्रक्रियाबाट आएको फैसलाले चीनका अधिकांश समुद्री दाबीलाई कानुनी आधार नभएको ठहर गरे पनि चीनले उक्त फैसला अस्वीकार गर्दै आएको छ।
साझेदार राष्ट्रलाई आत्मनिर्भर बनाउन जोड
कोल्बीले अमेरिकी रक्षामन्त्री पिट हेगसेथले मे महिनामा सिंगापुरमा आयोजित सांग्रिला रक्षा सम्मेलनमा व्यक्त गरेको धारणा दोहोर्याउँदै पश्चिमी प्रशान्त क्षेत्रमा बलियो रक्षा संरचना निर्माण गर्न अमेरिका प्रतिबद्ध रहेको बताए।
तर, यस्तो सुरक्षा संरचना अमेरिकाको प्रयासमा मात्रै निर्भर हुन नसक्ने उनको भनाइ छ। उनले एसियाली देशहरूले आफ्ना सेनाको आधुनिकीकरण गर्दै क्षेत्रीय सुरक्षाको जिम्मेवारी आफैँ लिनुपर्नेमा जोड दिए।
सहयोगी तथा साझेदार राष्ट्रलाई आफ्नो रक्षामा थप लगानी गर्न आग्रह गर्नु अमेरिकाले उनीहरूलाई छाड्न खोजेको अर्थमा नबुझ्न पनि उनले आग्रह गरे। बरु अमेरिका संरक्षण खोज्ने राष्ट्रभन्दा सक्षम र बराबरीका साझेदार चाहन्छ भन्ने उनको भनाइ थियो।
चार देशको भ्रमण
दक्षिण–पूर्वी एसिया भ्रमणका क्रममा कोल्बीले फिलिपिन्सपछि इन्डोनेसिया, थाइल्यान्ड र कम्बोडियाको भ्रमण गर्नेछन्।
भ्रमणका क्रममा क्षेत्रीय सुरक्षा सहकार्यलाई थप मजबुत बनाउने, साझेदार राष्ट्रको रक्षा क्षमता बढाउने तथा एसियामा अमेरिकी गठबन्धनलाई सुदृढ गर्ने विषयमा छलफल हुने बताइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्