काठमाडौँ । यमनका इरानसमर्थित हुथी विद्रोहीले बाब अल–मन्देब जलडमरूमध्यमा एउटा सानो कार्गो जहाजमाथि आक्रमण गर्दा तीन जना चालक दलका सदस्यको मृत्यु भएको बताइएको छ।
समाचार एजेन्सी रोयटर्सले यमनी तटरक्षकका दुई स्रोत तथा सरकारका दुई सैन्य अधिकारीलाई उद्धृत गर्दै आक्रमणमा तीन जनाको मृत्यु भएको जनाएको छ। आक्रमणमा जहाजलाई मिसाइल प्रहार गरिएको बताइएको छ।
यद्यपि हुथी समूहले अहिलेसम्म उक्त आक्रमणको जिम्मेवारी औपचारिक रूपमा लिएको छैन। घटनापछि उक्त क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको जनाइएको छ।
यमनी तटरक्षक स्रोतका अनुसार आक्रमणपछि उद्धार तथा खोजी कार्य जारी छ। घटनामा घाइते भएकाहरूलाई उपचारका लागि नजिकैका अस्पतालमा लगिएको बताइएको छ।
हुथी समूहले यसअघि पनि लाल सागर तथा यमनको तटीय क्षेत्रमा आवतजावत गर्ने व्यापारिक जहाजलाई निशाना बनाउँदै आएको छ। गत महिना समूहले लाल सागरमा साउदी अरेबियाविरुद्ध नौसैनिक नाकाबन्दी घोषणा गरेको थियो।
हुथी विद्रोहीले इजरायलविरुद्धको आफ्नो अभियानसँग जोडेर लाल सागरमा व्यापारिक जहाजमाथि आक्रमण गर्दै आएको बताउँदै आएका छन्। यस्ता आक्रमणका कारण बाब अल–मन्देब जलडमरूमध्य हुँदै हुने अन्तर्राष्ट्रिय सामुद्रिक व्यापार तथा जहाज आवागमनमा सुरक्षा चुनौती बढेको छ।
यमन सरकारले घटनालाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिएको जनाएको छ। सरकारी अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको र आवश्यक सुरक्षा कदम चालिने बताएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्