काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रिय सभाको बैठक बुधबार दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयक पेस तथा छलफलका लागि कार्यसूची तय गरिएको छ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ।
यस्तै, राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नुहुनेछ।
यसैगरी, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
राष्ट्रिय सभा सचिवालयका अनुसार बैठकमा तय भएका कार्यसूचीअनुसार विधेयकसम्बन्धी प्रक्रिया अघि बढाइनेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्