पोखरा । इन्जिनियरिङतर्फ स्नातक तह अध्ययनका लागि विभिन्न विश्वविद्यालयले सञ्चालन गरेका प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पोखराको प्रतिभा माविले मंगलबार सम्मान गरेको छ।
इन्जिनियरिङ अध्ययन संस्थान, पोखरा विश्वविद्यालय र गण्डकी विश्वविद्यालयले सञ्चालन गरेका प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा उनीहरूका अभिभावकलाई विद्यालयले सम्मान गरेको हो।
विद्यालयका निर्देशक राकेश जोशीले विद्यार्थीको सफलताको मुख्य आधार उनीहरूको आफ्नै मेहनत रहेको बताए। विद्यार्थीको मेहनतमा विद्यालय, शिक्षक र अभिभावकको साथ र सहयोग थपिँदा उत्कृष्ट परिणाम हासिल हुने उनको भनाइ थियो।
प्रतिभा माविका प्राचार्य किरण सापकोटाले विद्यार्थीको मेहनत, समर्पण र दृढ संकल्पका कारण सफलता हासिल भएको बताए। इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा अत्यन्त प्रतिस्पर्धात्मक हुने भन्दै उनले उत्कृष्ट स्थान हासिल गर्नु र छात्रवृत्ति प्राप्त गर्नु महत्वपूर्ण उपलब्धि भएको बताए।
प्रतिभा माविका ५२ विद्यार्थीले इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा उत्तीर्ण गरेका छन्। तीमध्ये २२ विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्ने भएका छन्।
विद्यालय सञ्चालक समिति अध्यक्ष नारायणप्रसाद पौडेलले निरन्तर मेहनत र चुनौतीको सामना गर्ने क्षमताले सफलता हासिल गर्न सहयोग पुग्ने बताए। अध्ययनका क्रममा आउने चुनौतीलाई आत्मसात् गर्दै अघि बढ्न उनले विद्यार्थीलाई आग्रह गरे।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्