काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने २३औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डका लागि प्लाजा होटल्स ग्रुपसँगको सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ।
सम्झौतापत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र प्लाजा होटल्स ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्लाजा होटल्स ग्रुपले अवार्ड समारोहमा सहभागी अतिथिका लागि आवास सुविधा उपलब्ध गराउनेछ।
त्यस्तै, मञ्चले आयोजना गर्ने विभिन्न कार्यक्रमका लागि आवश्यक स्थान तथा खानपानको व्यवस्थासमेत प्लाजा होटल्स ग्रुपले गर्ने जनाइएको छ। अवार्ड समारोह आगामी भदौ १८ गते प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजना हुँदैछ।
नौ विधामा अवार्ड
यस वर्षको अवार्डमा उत्कृष्ट खेलाडी पुरुष, उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड गरी नौ विधा समावेश गरिएको छ।
वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ।
गत वर्ष को-को बने विजेता ?
गत वर्ष पुरुषतर्फ क्रिकेटर दीपेन्द्र सिंह ऐरी, महिलातर्फ कराँतेकी एरिका गुरुङ, युवातर्फ क्रिकेटकी पूजा महतो र प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी लामा उत्कृष्ट घोषित भएका थिए।
त्यस्तै, सर्वाधिक मत प्राप्त गर्दै भलिबलका हिमाल सुनारीले पिपल्स च्वाइस अवार्ड जितेका थिए। स्पेसल अवार्डबाट तेक्वान्दोका तुलसीकुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आङदेम्बे र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाट सम्मानित भएका थिए।
एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड बंगलादेशका पत्रकार राना हसनलाई प्रदान गरिएको थियो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्