काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकमा अखिल नेपाल फुटबल संघ (एन्फा) को निलम्बन फुकुवाको विषयमा सामान्य जानकारी मात्र दिइएको छ ।
बैठकको अध्यक्षता गरेका युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फाको निलम्बन फुकुवाका लागि मन्त्रालयबाट पहल भइरहेको तर अहिलेसम्म कुनै ठोस निष्कर्ष ननिसकेको जानकारी गराएका थिए । बैठकमा सहभागी एक सदस्यका अनुसार प्रदेश खेलकुद विकास परिषद्का सदस्यहरूले एन्फा निलम्बनको विषयमा चासो राखेपछि मन्त्री पोखरेलले यस्तो जानकारी दिएका हुन् ।
जापानको नागोयामा हुने २०औँ एसियाली खेलकुद र कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता बैठकका मुख्य एजेन्डा थिए । एन्फा निलम्बनको विषयलाई भने विविध शीर्षकअन्तर्गत राखिएको थियो ।
तर, एन्फा निलम्बनलाई गम्भीर विषयका रूपमा लिइए पनि बोर्ड बैठकमा यसबारे विस्तृत छलफल भने हुन सकेन । नेपाली फुटबलका गतिविधि कसरी सञ्चालन गर्ने, फुटबललाई ठप्प हुनबाट कसरी जोगाउने र निलम्बन फुकुवाका लागि थप के कदम चाल्ने भन्ने विषयमा बैठकमा ठोस निर्णय नभएको बताइएको छ ।
तदर्थ समिति गठन रोकियो
यसअघि ठप्प रहेको नेपाली फुटबल गतिविधि सञ्चालन गर्न राखेपले नयाँ तदर्थ समिति गठन गर्ने तयारी गरेको चर्चा थियो । तर, तत्कालका लागि उक्त प्रक्रिया रोकिएको छ ।
प्राप्त जानकारीअनुसार एन्फाका पदाधिकारीहरूले सरकार र विश्व फुटबल महासंघ (फिफा) बीच वार्ताको वातावरण बनाउने प्रतिबद्धता जनाएपछि तदर्थ समिति गठन प्रक्रिया रोकिएको हो ।
सरकार र फिफाबीच वार्ता हुन नसकेमा वा वार्ता भए पनि ठोस निष्कर्ष ननिस्किएमा पुनः तदर्थ समिति गठनको प्रक्रिया अघि बढाउने सरकारको योजना रहेको बैठकमा सहभागी एक सदस्यले बताए ।
यससँगै नेपाली फुटबलको आगामी गतिविधि र एन्फाको निलम्बन फुकुवाका लागि सरकार तथा एन्फा नेतृत्वले गर्ने पहलतर्फ सबैको ध्यान केन्द्रित भएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्