काठमाडौं । नेपाल प्रिमियर लिगको साबिक विजेता लुम्बिनी लायन्सले श्रीलंकन क्रिकेटर निरोशन डिकवेलालाई तेस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।
लुम्बिनीले बिहीबार विज्ञप्तिमार्फत डिकवेलासँग सम्झौता भएको जनाएको हो ।
गत सिजनका ब्याटर तथा विकेटकिपर डिकवेलाले लुम्बिनीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । समूहचरणको चार खेल खेलिसकेपछि डिकवेला लुम्बिनीसँग जोडिएका थिए । उनी आउँदा टोली ३ खेल हारेर संकटमा थियो । डिकवेलाले ६ खेलमा १२२ माथिको स्ट्राइक रेटमा १३७ रन बनाएका थिए । लुम्बिनीबाट डिकवेलाभन्दा बढी रन बनाउनेमा रोहित पौडेल (२७६) र डार्सी शर्ट (२५६) ले मात्र थिए ।
‘निरोशन डिकवेलालाई पुन लुम्बिनी लायन्समा स्वागत गर्न पाउँदा हामी हर्षित छौँ, गत सिजनमा उनले व्यक्तिगत प्रदर्शनमात्र गरेनन्, टिमलाई एकजुट बनाउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । आउँदो सिजन पनि उनले यही भूमिका निभाउने अपेक्षा लायन्सको रहेको छ, ’ अध्यक्ष इश्वर जिसीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
डिकवेला हाल दम्बुला सिक्सर्सबाट श्रीलंकामा लंका प्रिमियर लिग खेलिरहेका छन् । ३३ वर्षे डिकवेलाले श्रीलंकाबाट ५४ टेस्ट, ५५ एकदिवसीय अन्तर्राष्ट्रिय र २८ टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्